विद्यालय एउटै परिवारको कब्जामा

रौतहट । रौतहटको एक विद्यालयमा कार्यरत सबै शिक्षक, शिक्षिका एकै परिवारका सदस्य रहेको रहस्य बाहिरिएको छ । सदरमुकाम गौर–४ टिकुलियामा १५ वर्षदेखि सञ्चालनमा रहेको श्री आधारभूत विद्यालयमा कार्यरत सबै शिक्षक÷शिक्षिका एकै परिवारका रहेको खुलेको हो ।

प्रधानाथ्यापक श्रीमती रहेको विद्यालयमा श्रीमान् भने कार्यालय सहयोगी, नन्द राहत शिक्षिका, भाउजु बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर वर्षाैंदेखि विद्यालयबाट सेवा सुविधा लिइरहेको पाइएको हो ।

०६३ सालमा स्थापना भएको सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापकमा बुहारी सावित्री यादव, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्यालय सहयोगीमा छोरा अशोक यादव रहेका छन् ।

गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहले विद्यालय अनुगमनका क्रममा यस्तो अवस्था देख्दा शिक्षामा समेत परिवारवाद हावी भएको बताए । मेयर साहले एकै परिबारबाट सञ्चालनमा रहेको सो विद्यालयमा अध्यनरत विद्यार्थीको शैक्षिक अवस्था एकदम दयनीय रहेको पाइएको बताए ।

बालबालिकाहरू पढ्न र लेख्न त जान्दैनन् नै जम्मा २४ जना विद्यार्थी एउटै कक्षामा राखेर अध्यापन गराइन्छ । कक्षा ६ सम्म अध्यापन हुने विद्यालयमा भौतिक पूर्वाधार भए पनि अध्यापन गर्ने महिला शिक्षकमा शिक्षण सिकाइको अभाव रहेका कारण विद्यालयको शैक्षिक गुणस्तर खस्किएको मेयर साहले बताए । उनले नगरपालिकाको शिक्षा शाखालाई विद्यालयमा भएको बेथितिका बारेमा थप अनुसन्धान गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया