इन्जिन र बोगीको थप आवश्यकता

जनकपुरधामको रेलमा ठेलम ठेल

जनकपुरधाम । कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनमा आएसँगै यात्रुहरूको चाप बढ्दो छ । इन्जिनसहित चार वटा डब्बा रहेको रेलमा एउटा रेल्वे कर्मचारीका लागि र दुई वटा यात्रुहरूका लागि राखिए पनि दैनिक रूपमा आवश्यकताभन्दा पनि यात्रु बढी भएपछि दुई वटै रेल सेटलाई जोडेर अहिले सञ्चालनमा ल्याइरहेको छ । लक्जरियस रेलको रूपमा रहेको जनकपुरधामको रेलमा यात्रुहरूका लागि अहिले दुई वटा मात्र डब्बा उपलव्ध रहेको छ ।

३५ किलोमिटर रहेको कुर्था–जनकपुरधामदेखि जयनगरसम्मको रेलको भाडा सामान्यतर्फ ७० रुपैयाँ र एयर कन्डिसनसहितको विशेष सेवातर्फ ३ सय ७० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले दुई वटै रेल सेवाका लागि गुड्ने कार्यतालिका बनाए पनि अहिले एउटै रेलमा दुई वटा रेलको बोगी जोडेर सञ्चालनमा ल्याइएको छ । विशेषगरी शनिबार र बुधबार तथा चाडपर्वका बेला एउटै रेलमा दुई वटै बोगी जडान गर्ने गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडमा महाप्रबन्धक निरञ्जन झाले बताए ।

झाका अनुसार खरिद गरिएको रेलमा बोगीहरू इन्जिनसँगै एटेच रहेकोले वाध्यतावस दुवै इन्जिनलाई पनि अगाडिपछाडि गरेर जोड्दा दुवै इन्जिनमा तेल खर्चको भार बढेको वताए । उनले भने, ‘अहिले अधिकांश भारतीय कर्मचारीहरूले रेल चलाउँदै आएकोले पनि खर्च बढी भएको र एक वर्षभित्र आफनै कर्मचारी ट्रेनिङ प्राप्त भएपछि खर्चमा ७५ प्रतिशत कटौती भई रेलले उल्लेख्य आम्दानी गर्नेछ ।’ अहिले जयनगरबाट बिहान साढे ८ बजे र दिउँसो ३ बजे रेल प्रस्थान गर्दछ । यस्तै, कुर्थाबाट बिहान साढे १० बजे र अपराह्न ५ः१५ मा जयनगरतर्फ प्रस्थान गर्दछ ।

नियमित दुई वटै रेल सञ्चालनका लागि कम्तीमा तीन वटा रेल आवश्यक हुने महाप्रबन्धक झाको भनाइ छ । दुई वटै रेल सञ्चालन गरिएमा दुई सातामा एक दिन रेलको सर्भिसिङ तथा मेन्टिनेन्समा लाग्ने हुँदा रेल सेवा नै एक दिन ठप्प गर्नुपर्ने अवस्था आउने उनले बताए । ‘यस्तो गर्दा सेवाग्राहीमा समस्या तथा भ्रमसमेत उत्पन्न हुने भएकाले एउटा रेलले सेवा दिनु परेको हो,’ उनले भने । यता जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रेल सेवा सञ्चालनले नेपाल र भारतबीच कनेक्टिभिटीमा सफलता मिलेको बताए ।

‘रेलमा पार्सल बोगी (मालसमान ढुवानीका लागि) नहुँदा बजार व्यवसाय तथा व्यापार क्षेत्रमा भने घाटा नै भइरहेको छ’, उनले भने, ‘रेल्वे सञ्चालन भएपछि भारत तर्फबाट दिनहुँ सयौँको संख्यामा आउने यात्रुका कारण होटेल व्यवसायका क्षेत्रमा भने निकै लाभ भए पनि किराना पसलदेखि अन्य व्यवसायमा भने घाटा हुन थालेको छ ।’

उनका अनुसार रेल सेवा सञ्चालन भएसँगै यताबाट जाने गरेका यात्रुले भारतबाटै खाद्यान्न, लत्ताकपडादेखि अत्यावश्यक सामग्रीहरू खरिद गरेर ल्याउन थालेपछि जनकपुरधामको बजारमा मन्दी हुन थालेको छ । रेल्वे स्टेसन एरियामा सञ्चालन गरेका किराना व्यवसायीहरूका अनुसार रेल्वे गुडने समय तालिका नमिलेकोले रेल सञ्चालन भएको दुई महिना बितिसक्दा पनि अहिलेसम्म खासै व्यवसायमा सुधार हुन सकेको छैन । यसभन्दा पहिलेको रेल सेवाले चलाउँदै आएको समयअनुसार नै रेल चलाइए व्यापार व्यवसायमा बढोत्तरी हुनसक्ने वताए ।

लामो समयदेखि खुल्ला रहेको रेल्वे स्टेसन अहिले सञ्चालनमा आए पनि स्थानीयहरू रेल्वे स्टेसनमा फोहोर गर्न नछाडेको महाप्रवन्धक झाको गुनासो छ । सार्वजनिक सौचालयलाई अति नै फोहोर गरिदिनेदेखि लिएर जताततै पान गुटखाको थुकका कारण सुरक्षाकर्मीले कडाइ गर्दा जनप्रतिनिधिहरूले नै आएर आपूmलाई हप्काउने गरेको उनको गुनासो छ । रेल चढनका लागि विदेशीहरू पनि दैनिक आउने गरेकाले सोही अनुसार रेल्वेलाई मेन्टेन गर्नुपरेकोले स्थानियवासीलगायत जनप्रतिनिधिहरूले पनि आपूmलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । दुई वर्षअघि भारतीय रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याइएको थियो ।

नेपालमा पछिल्लोपटक सन् २००१ सम्म भारतको जयनगरदेखि नेपालको विलजलापुरसम्म २२ किलोमिटर चलेको रेल त्यतिबेला दुई वटा पुल भत्केपछि बन्द भएको थियो । नेपालमा रेल पहिलोपटक रेल सन् १९२७ मा आएको हो । बिट्रिस सरकारको पालमा कोइलाबाट चल्ने उक्त रेल भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म चल्थ्यो । सो रेल सन् १९६५ सम्म चल्यो । यो रेलमार्गको लम्बाई सुरुमा ३९ किलोमिटर रहेको थियो ।

नेपाली भूमिमा चलेको दोस्रो रेल जयनगर–विजलापुर हो । यो सन् १९३७ मा सञ्चालनमा आएको थियो । यो रेल पनि बिट्रिस भारतीयले सञ्चालनमा ल्याएका थिए । जनकपुरधाम–विजलापुर २२ किलोमिटरको रेलवे ट्रयाक र दुई वटा पुल बाढीले बगाएपछि सन् २००१ बाट रेल सञ्चालन ठप्प भएको थियो ।

५२ किमि दुरीमा सञ्चालन हुने गरेको जयनगर–जनकपुरधाम–विजलापुर रेलको लिंक घट्दै, बाढीपहिरोले बगाउँदै जाने र आवश्यक मर्मत नहुँदा रेलमार्ग विस्तारै बन्द हुँदै गएको थियो । जीर्ण हुँदै गएको २९ किमिको दुरीमा मात्रै चल्ने रेल पनि सात वर्षदेखि बन्द थियो । नेपालमा रेलमार्ग निर्माण गर्ने योजना आव ०६६÷६७ बाटै सुरु भएको हो । रेल यातायातको विकास गर्ने सरकारी योजना कार्यान्वयन गराउन सरकारले ०६८ असार १ गते रेल विभाग स्थापना गर्यो । विभाग गठन भएको आठ वर्ष भइसकेको छ ।

प्रतिक्रिया