रानीज्यूलोमा रोपाइँ सुरु

कर्णाली । गत वर्ष आएको बाढीले क्षतविक्षत भएको कुलो निर्माण भएपछि तातोपानी गाउँपालिका–१ जुम्लाको रानीज्यूलोमा रोपाइँ सुरु भएको छ । गत कात्तिक १ गते परेको अविरल वर्षाका कारण आएको बाढीले जुम्ला तातोपानी, तिला र हिमामा ठूलो क्षति पुगेको थियो । अन्न भण्डारण गर्ने बेला आएको बाढीले यहाँका सयौँ किसानको धान, कोदो, मकै भटमास, सिमीलगायतका अन्न र स्याउबालीमा क्षति पुगेको थियो । भित्र्याउने बेलाको बाली प्राकृतिक विपद्ले खोसेपछि यहाँका किसान मारमा परेका थिए । बाढीले यस वर्ष गाँस खोसे पनि अर्को वर्ष कुलो निर्माण भइदिए हुन्थ्यो भन्ने आशा गरेका किसान कुलो सञ्चालनमा आएसँगै निकै हर्षित भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए ।

‘कृषि विकास कार्यालय जुम्लाको सात लाख र स्थानीय समुदायको एक लाख रुपैयाँ श्रमदानबाट बाढीले क्षतिग्रस्त स्थानमा ४१ मिटर आरसिसी कुलो निर्माण भएको हो,’ उनले भने, ‘तातोपानी गाउँपालिका–१ जुम्लास्थित रानीज्यूलोमा कुलो निर्माणपछि रोपाइँ सुरु भएको छ ।’ तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मिटर कुलो आरसिसीका साथै ४० ग्याविन हालेर रोपाइँ सुरु गरिएको छ, तथापि जोखिम क्षेत्रमा कुलो पूरै आरसिसी एवं बाँध निर्माण गर्न ठूलो योजना चाहिने भएको उनले बताए ।

रानीज्यूलोको कुलो निर्माणले १६ हेक्टर जमिनमा काली मार्सीधान फल्ने खेतमा सिँचाइ पुगेको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताए । ‘क्षतिग्रस्त कुलो नबन्दा धान रोप्न नपाइने हो कि भन्ने आशंका थियो,’ उनले भने, ‘यस वर्ष जेनतेन कृषि विकास कार्यालयको सहयोगमा कुलो निर्माण भएर हामीलाई राहत पुगेको छ ।’ रोपाइँ भए पनि वर्षायामको नदीले पुनः कुलो र खेत बगाउने हो कि भन्ने चिन्ता भएकाले त्यसमा ग्याबिनको मात्रा बढाएर सहयोग गर्न सरकारलाई उनले अनुरोध गरे ।

कृषि विकास कार्यालयका सबइञ्जीनियर महेश बुढ्थापाका अनुसार बाढीले बगाएको तातोपानी–१ बाइराकाको सय मिटर कुलो पुनर्निर्माणको काम भइरहेको छ । त्यस्तै तिला गाउँपालिका–४ जुम्ला नुवाकोटमा पनि विपद्ले बगाएको बालुबाट चौसिलासम्मको १ सय २३ मिटर कुलो आरसिसी निर्माण भएको तर सो कुलो धेरै बनाउनुपर्ने भएकोे उनले बताए । उनका अनुसार जुम्लाका सिँचाइ योजना तथा आरसिसी कुलो ६० बढी स्थानमा निर्माण भइरहेका छन् । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले कृषि विकास कार्यालय जुम्लाको आरसिसी कुलो निर्माण सहयोगले समुदायलाई ठूलो सहयोग पुगेको बताए ।

प्रतिक्रिया