पोखरा । स्थानीय तह निर्वाचन २०७९ मा म्यादी प्रहरी भई काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए । उनले भने, ‘सीपमूलक तालिम र रोजगारी/स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।’
उनका अनुसार शुक्रबार (सिटिइभिटी) गण्डकी प्रदेश कार्यालय पोखराले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा तत्काल बजारको मागअनुसार विभिन्न किसिमका छोटो अवधिको तालिमको सुरुआत गरेको हो । म्यादी प्रहरीको लागि सञ्चालन गरिएको तालिममा हाललाई जुनियर विल्डिङ इलेक्ट्रीसियन, प्लम्बर र किचन सहयोगी (कुक) तालिम सञ्चालन गरिएको छ भने बाँकी तालिम आगामी दिनमा क्रमशः सञ्चालन गरिँदै जाने आचार्यले बताए । तालिम आवश्यकताका आधारमा १४० घण्टा (२७ कार्यदिन) को पाठ्यक्रम तयार गरी सञ्चालन गरिनेछ ।
कार्यक्रममा तालिमको आवश्यकता पहिचानको लागि सिटिइभिटी, गण्डकी प्रदेश कार्यालयबाट स्थानीय तहको चुनाव सम्पन्नपश्चात् कास्की जिल्लाबाट बिदाइ भई जान लागेका एक हजार ४०० म्यादी प्रहरीलाई प्रश्नावली भर्ने व्यवस्था मिलाइएको थियो । करिब ८७५ ले प्रश्नावली भरी सिटिइभिटी, गण्डकी प्रदेश कार्यालयमा पठाइएको प्रश्नावलीबाट प्राप्त तथ्यांकका आधारमा आवश्यकता पहिचान गरी सीपमूलक तालिम सञ्चालन गरिएको निर्देशक आचार्यले बताए । म्यादी प्रहरीलाई सीपमूलक तालिममार्फÞत उत्पादनशील क्षेत्रमा जोड़नका लागि नेपाल सरकारको आगामी आव २०७९/८० को बजेट वक्तव्यमा सम्बोधन भएकोमा आचार्यले सरकारप्रति आभारसमेत बनाएको उनले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले म्यादी प्रहरी बनेर राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख भएको जानकारी गराउँदै उनीहरुको रुचिका विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइने तथा सञ्चित सुरक्षा बलको रूपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने नीति राज्यले लिएको बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले दक्ष जनशक्ति उत्पादन गर्न सीपमूलक तालिमको आवश्यकता रहेको बताएका छन् । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उद्योग वाणिज्य संघंका कोषाध्यक्ष बलराम आचार्यलगायतले बजारको मागअनुरूपको दक्ष तथा सीपमूलक जनशक्ति उत्पादनमा सिटिइभिटीले खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए ।
प्राविधिक शिक्षालय पोखराका प्रमुख हर्कलाल श्रेष्ठले बेरोजगार युवालाई आवश्यक सीप दिएर उत्पादनमूलक रोजगारी सिर्जना गरी मुलुकमा उपलब्ध युवा श्रम शक्तिको अधिकतम उपयोग गर्न प्राविधिक शिक्षालय लागि परेको बताए । आर्थिक वर्ष २०७९/८० को बजेटमा योग्य जनशक्तिलाई रोजगारीका क्षेत्रमा आफ्नो सम्भावनाको उच्चतम प्रयोग गर्नसक्ने बनाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सीपमूलक व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । सबै बेरोजगार जनशक्तिको योग्यता, क्षमता र सीपसमेत उल्लेख हुने गरी तथ्यांक अद्यावधिक गरिने, कृषि तथा वन, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, औद्योगिक र घरेलु तथा साना उद्योग क्षेत्रलाई रोजगारी सिर्जनाको स्तम्भको रूपमा विकास गरिने योजना बजेटमा ल्याइएको छ ।
अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा
मनाङ । जिल्लाको नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्न व्यक्तिको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो ।
त्यस्तै पालिका क्षेत्रको सडक तत्काल मर्मत गर्ने निर्णय भएको छ । बैठकले वडालाई बालमैत्री वडा बनाउने गरी स्थानीय शासनसम्बन्धी कार्य अघि बढाउने, निरपेक्ष गरिबीको रेखामुनि रहेका घरपरिवारको विवरण तयार गर्ने, कार्यालयको सेवालाई पारदर्शी र प्रविधिमैत्री बनाउन बैठकको निर्णय तत्कालै वडा कार्यालयमा पठाउने र वेबसाइटमा राख्ने निर्णय गरेको छ भने विभिन्न विषयगत समितिसमेत गठन गर्ने निर्णय भएको छ ।
कार्यपालिकाको बैठकमा उपाध्यक्ष वेदबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र कार्यपालिकाका सदस्यको उपस्थिति रहेको थियो । बैठकले नासोँ गाउँपालिकाकाले बजेट, नीति, योजना तथा कार्यक्रम छनोटको लागि प्राथमिकतासाथ अगाडि बढ्ने तयारी गरेको छ । नीति, योजना तथा कार्यक्रम स्वीकृत आजसम्म गर्ने निर्णय गरेको अध्यक्ष धनबहादुर गुरुङले बताए ।
नासोँ गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङ्दी नदीको बाढीबाट पुगेको क्षतिलाई मध्यनजर गर्दै तटबन्ध बनाउने कामलाई प्राथमिकतामा राखिएको र निर्माणको काम भइरहेको उनले जानकारी दिए । जोखिम बस्तीको व्यवस्थापनका लागि गाउँपालिका सचेत रहेको उनले बताए ।
प्रतिक्रिया