नयाँ सरकार आएसँगै सिओसी कक्षाका सहभागी सक्रिय

कालीकोट । स्थानीय तहमा नयाँ सरकार आएसँगै सिओसी कक्षाका सहभागीहरु सक्रिय बन्दै आएका छन् । विगतका दिनहरुमा वालविवाह, छाउपडीलगायतका समाजमा रहेका विभिन्न कुरिती, कुसंस्कार न्यूनिकरण गर्नतिर लागिपरेका बालवालिकाहरु अहिले नयाँ जनप्रतिनिधि आइसकेपछि केही आशा पलाएको स्थानीय बताउने गर्छन् ।

जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा रहेका १ हजार बालवालिकाहरुले नयाँ जनप्रतिनिधिको आगमन भएसँगै समाजमा रहेका विभिन्न हिंसा न्यूनिकरणका लागि महत्वपूर्ण सहयोग अपेक्षा गरेको रास्कोट नगरपालिकाकी सिओसी सहजकर्ता सुक्ला सिम्खाडाले बताइ्न् ।

निवर्तमान जनप्रतिनिधिहरुले बालवालिकाको क्षेत्रमा खेलेको भुमिकालाई मध्यनजर गर्दै अब नयाँ जनप्रतिनिधिहरुले झन् महत्वपूर्ण भुमिका निर्वाह गर्ने आशा आफूहरुमा रहेको सिओसी सहजकर्ता वसन्ती विष्टले बताइन् ।

१ हजार बालवालिकाहरुले विभिन्न परम्परागत हानिकारक अभ्यास न्यूनिकरणमा लाग्दै गर्दा अभिभावक, नागरिक समाज, मानव अधिकारकर्मी, स्थानीय तहका जनप्रतिनीधि लगायत अन्य नागरिकहरुको सहयोगमा विभिन्न कुरिती न्यूनिकरण भएको सान्नीत्रिवेणी गाउँपालिकाकी सिओसी सहजकर्ता आशा केसीले बताइन् ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरणमा ३ स्थानीय तहमा विभिन्न कार्यक्रमहरु लागू भइरहेका छन् । यस अन्तर्गत बालविवाह, छिटो विवाह र जवरजस्ती विवाह न्यूनिकरणमा प्लान इन्टरनेशनल नेपालले विभिन्न क्रियाकलाप गर्दै आएको कार्यक्रम अधिकृत डम्बर बोहोराले बताए ।

रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा पहिलेको तुलनामा अहिले विभिन्न हिंसाहरुमा कमी भएको कार्यक्रम संयोजक शिवशंकर उपाध्यायले बताए । उपाध्यायका अनुसार विद्यालय बाहिर रहेका बालवालिकाहरु सिओसी कक्षा सञ्चालन भएपछि नियमित विद्यालय जाने गरेका छन् ।

बालबालिकाको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएका कारण बालबालिकाको व्यक्तित्व विकाससँगै आफ्नो हक र अधिकारका विषयमा थाहा पाएको सिओसी कक्षामा आवद्ध बालबालिकाहरुले बताउने गरेका छन् । नयाँ सरकार अएसँगै आशा बालबालिकाहरुमा पलाएको उनीहरुको भनाई छ ।

रास्कोट नगरपालिका– २ का सिओसी कक्षाकी सदस्य मनिसा सिम्खाडाले पहिलेको तुलनामा अहिले बालबालिकाहरुको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएपछि बालबालिकाहरुलाई महत्वपूर्ण शिक्षा हासिल भएको बताइन् । यस्तै रास्कोट नगरपालिका– २ की दर्पना लुवारले हिजोका दिनमा आफूहरुको बोल्ने कलादेखि लिएर व्यक्तित्व विकाससमेत भएको बताउँदै आगामी दिनहरुमा बालबालिकाको क्षेत्रमा काम गर्ने बताइन् ।

सिओसी कक्षामा आवद्ध एक हजार बालबालिकाहरु विभिन्न हिंसाहरु लगायत अन्य विकास निर्माणका काममा खवरदारी समेत गरिरहेका छन् । नयाँ सरकार आएसँगै हरेक विकास निर्माणका योजना छनौटदेखि विभिन्न कार्यक्रममा बालबालिकाहरुको अनिवार्य उपस्थितका लागि पनि कदम चालिरहेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया