हत्या गरि इनारमा फालिएका साहको शव बाहिर निकालियो

सिरहा । सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका–२ टुड्कियाका करिब ५० वर्षीय विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको हो ।

मंगलबार अपरान्ह श्रीमतीको लागि औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताए । औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएको थियो ।

खोज तलासकै क्रमा आज बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले बताए ।

मृतक साहको टाउकोमा गहिरो चोट लागेका कारण हत्याको आशंका गरिएको प्रहरी निरीक्षक केसीले बताए । यद्यपि, पूर्ण जानकारी अनुसन्धानपछि मात्रै आउने उनको भनाइ छ ।

शवलाई इनारबाहिर निकाली पोष्टमार्टमका लगि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिस्ठान घोपा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।

मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या गरेको दाबी गरेकी छन् । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताइन् ।

साह एक महिना अधिमात्रै वैदेशिक रोजगरीबाट घर आएका थिए । गाउँको बाटो आरसीसी ढलान गर्ने विषयमा स्थानीयहरूसँग उनको विवाद भएको थियो ।– न्युज कारखाना

प्रतिक्रिया