महोत्तरीमा गौशालाका गाईको विजोग

महोत्तरी । हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । परम्पराले पूज्य र राष्ट्रिय जनावरको परिचय बनाएको गाईको महोत्तरीको गौशालामा अहिले विजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाई भकाभक मर्दैछन् । राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको गौशालाका गाईलाई उचित रेखदेख, पौष्टिक आहार र उपचारको अभाव छ । ‘न गाईलाई समुचित आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ ? खोरमा थुनिएका छन्’, गाईको अवस्थाबारे गौशाला–४ का अजय कुशवाहा भन्छन् । पछिल्लो एक वर्षभित्र गौशालाका २० भन्दा बढी गाई मरिसकेका छन् ।

अहिले गौशालामा करिब तीन सय गाई छन् । गौशालाका गाई हेर्न पुगेकी महोत्तरीकै भंगाहा नगरपालिका–४ रामनगरका रामईश्वर ठाकुर भन्छन्, ‘सबैजसो गाईका करङ देखिएका छन् ।’ गाईले हरियो घाँस नपाएको महिनौँ भएको छ । गौशाला गाईगोठ पुग्दा गाईको अवस्था देखेर द्रवित नहुने कोही हुँदैनन् ।

गौशालाका कर्मचारी भने गाईको समुचित देखभाल र खानपान व्यवस्थापनबारे राष्ट्रिय सहकारी बोर्ड उदासिन रहेको बताउँछन् । ‘अभिभावकत्व लिने राष्ट्रिय सहकारी विकास बोर्डले कुनै वास्ता गर्दैन, के गरी धान्ने ?’ निगौल गाई गौशाला कार्यालयका प्रमुख डा.दीपेन्द्र पण्डितले भने । गौशाला सञ्चालनका लागि १ सय ५० बिघा जग्गा छ । जग्गामा घाँस र अन्य बाली समुचित तवरले लगाउन नसक्दा गाईलाई आहाराको अभाव भएको हो ।


‘गाईकै खानपान प्रबन्धका लागि जग्गा हो, जग्गामा घाँस र अन्य बाली लगाउने गरेको देखिँदैन, अधिकांश जग्गा बाँझै छ’, स्थानीय मनोज थापा भन्छन्, ‘केही दशकयता कर्मचारीको बेखबरपन, सरकारको उदासिनता र स्थानीय तहको बेवास्ताले बिजोग छ ।’ निगौल गाई गौशालामा अहिले राष्ट्रिय सहकारी बोर्डका २१ कर्मचारी कार्यरत छन् ।

गोठमा १०औँ वर्ष पालिएका गाईले बहर लिएका छैनन् । गाई थारा बस्ने क्रम बढेको छ । ‘गोठमा थारा गाई त छन्, गाई बहाल (गर्भवती) नहुने समस्या छ’, कार्यालय प्रमुख पण्डित भन्छन् । गौशालामा अहिले १८ दूध दिने गाई छन् । यी गाईबाट दैनिक १२ लिटर मात्र दूध संकलन हुन सकेको छ । गाईलाई पौष्टिक आहार दिन नसकिएकै कारण दूधको मात्रा निकै कम भएको कार्यालय प्रमुख डा.पण्डितको स्वीकारोक्ति छ ।

बोर्डले गाईको सम्भार र स्याहारका लागि रकम नपठाउँदा अवस्था चिन्ताजनक बनेको पण्डितको भनाइ छ । ‘गाईकै खानपानका पौष्टिक आहारको २२ लाख ऋण तिर्न बाँकी छ’, पण्डित भन्छन्, ‘अब त उधारो पत्याउन छाडे, त्यसैले गाईलाई पौष्टिक आहार खुवाउन सकिएको छैन’, यो प्रबन्ध राष्ट्रिय सहकारी विकास बोर्डले गर्नुपर्ने पण्डितको भनाइ छ । गाई गौशालाको जग्गामा पशु हाट लगाइने ठेक्का बन्दोबस्तबाट २५ प्रतिशत रकम आफ्नो कार्यालयले पाउनुपर्ने पूर्वसहमति भए पनि गौशाला नगर कार्यपालिकाको कार्यालयले दिन आनाकानी गर्दै आएको पण्डितले बताए ।

प्रतिक्रिया