कैदी बन्दीलाई फुटबलसँगै प्रशिक्षक र रेफ्रीको तालिम दिइने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको समन्वयमा शेल्टर आश्रय नेपालले जेल फुटबल, फुटबल थ्रु रिह्याबिलिटेशन कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी दिइएको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधर र शेल्टर आश्रय नेपालका अध्यक्ष खुस्बु ओलीले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

फुटबलका माध्यमबाट कैदीबन्दीको क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको ओलीले बताइन् । यो कार्यक्रम केन्द्रीय कारागारमा सञ्चालन गरिने जनाइएको छ । ‘हामीले खेलाडी, रेफ्री र प्रशिक्षक शिक्षा कार्यक्रम ल्याइरहेका छौं र बन्दीहरूको आत्मविश्वास बढाउन मद्दत गर्दछौं। यसले उनीहरूको मानसिक स्वास्थ्यमा पनि मद्दत गर्दछ र समाजको सुधारका लागि काम गर्ने इच्छा विकास गर्दछ, ’ ओलीले भनिन् ।

यस कार्यक्रमले एक वर्षमा दुई चरणमा ४८ खेलाडी र ३२ जना रेफ्री तथा प्रशिक्षकलाई तालिम दिने लक्ष्य राखेको छ । जुन ५ देखि नोभेम्बर ३० सम्म हुने पहिलो चरणमा २४ जना खेलाडी तथा १६-१६ जना रेफ्री र प्रशिक्षक तयार हुनेछन् । दोस्रो चरण डिसेम्बर १ देखि मे २०२३ सम्म सञ्चालन हुनेछ। प्रशिक्षकहरूले डी लाइसेन्स प्राप्त गर्नेछन्, रेफ्रीहरूले श्रेणी चौथो प्रमाणपत्र प्राप्त गर्नेछन् र खेलाडीहरूले पाठ्यक्रम पूरा गरेपछि प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया