६७ वर्षमा ९४ दुर्घटना, ७६५ ले गुमाए ज्यान

नेपालको आकाश कति सुरक्षित !

काठमाडौं । विगत ६७ वर्षमा नेपालमा ९४ वटा हवाई दुर्घटना भएका छन् । जसमध्ये ५४ वटा दुर्घटनामा सात सय ६५ जनाले ज्यान गुमाएका छन् । पहिलो हवाई दुर्घटना सन् १९४६, मे ७ मा भएको थियो । १४ सैनिकसहित दुई जना चालकदलका सदस्य चढेको रोयल फोर्सको जहाज दुर्घटना भएको थियो । तत्कालीन सयममा भने मानवीय क्षति भने भएको थिएन ।

एउटै विमान दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएको पछिल्लो घटना सन् २०१८ मार्च १२ मा भएको थियो । बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्री सवार थिए । जसमध्ये केहीलाई घटनास्थलबाट जिवीतै उद्धार गरिए पनि चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो । सडक दुर्घटना जस्तो विमान दुर्घटनामा यात्रुलाई घाइते अवस्थामा उद्धार गरिएका घटना ज्यादै कम छन् ।

विमान दुर्घटना आफैमा एउटा कहालीलाग्दो अवस्था हो । पछिल्लो पाँच वर्षयता वर्षेनी झण्डै २ वटाको दरमा भएका विमान दुर्घटनालाई हेर्दा नेपालमा हवाईयात्रा साँच्चिकै जोखिमयुक्त हो कि भन्ने अनुमान गर्न थालिएको छ ।

नेपालको विमान दुर्घटनाको इतिहास केलाउने हो भने सबैभन्दा ठूलो र वढी मानविय क्षति भएको दुर्घटना २५ वर्ष अगाडि २०४९ साल असोज महिनाको १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ । पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिकसहित विमानमा सवार सबै एक सय ६७ जना यात्रीहरुको दुःखद निधन भएको थियो ।

संयोग नै हो, पछिल्लो पटक भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि ०६९ असोज १२ गते नै दुर्घटना भयो । यस अर्थमा त्यो दिनलाई विमान दुर्घटनाको इतिहासमै कालो दिनका रुपमा लिन सकिन्छ ।

०४८ सालमा रसुवा जिल्लाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा एक सय १३ जनाको मृत्यु भएको थियो । यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानविय क्षति हुन पुगेको दुर्घटनाको रुपमा रहेको छ ।

विगत ९ वर्षयता नेपाली आकाशमा भएका विमान दुर्घटनाहरुलाई सर्सती हेर्ने हो भने ०६५ साल असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । यसमा १८ जना यात्रीको मृत्यु भएको थियो ।

यसैगरी ०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुर स्थित तोरीबारीमा अग्नी एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीहरुको निधन भएको थियो । ०६७ सालकै मंसिर २९ मा ओखलढुंगामा तारा एयरको विमान दुर्घटना भयो । त्यसमा २२ जना यात्रीहरुले ज्यान गुमाउनु पर्यो । विमान दुर्घटनाको श्रृंखला ०६८ असोज ८ गते पनि दोहोरियो । बुद्ध एयरको सेवा शुरुको १४ वर्षको इतिहासमा यो उसको पहिलो विमान दुर्घटना थियो । ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । ०६८ सालकै कार्तिक १ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । ०६९ जेठ १ गते अग्नी एयरको विमान जोमसोममा दुर्घटना हुँदा १५ जनाले यसमा ज्यान गुमाए ।

०६९ असोज १२ गते सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यका भित्रै मनोहरा खोला किनारमा भएको र यसमा १९ जनाको निधन भएको थियो । त्यो घटना उपत्यकावासिका लागि अविष्मरणीय घट्ना हुन पुगेको छ । यसपछि पनि पटक–पटक विमान दुर्घटनाको श्रृंखला दोहोरिइरहे ।

०७० फागुन ४ मा भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा अर्को ठूलै चुनौती थपिदियो । अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । ०७२ फागुन १२ गते पनि विमान दुर्घटना भयो ।

पछिल्लो पटक आइतबार पोखराबाट मुस्ताङको जोमसोम जानेक्रममा तारा एयरको विमान दुर्घटना भएपछि हवाइ सेवाका लागि नेपाली आकाश कति सुरक्षीत छ भन्ने विषय पुनः चर्चामा आएको छ । तारा एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडेको थियो । उक्त विमानमा सवार सबै २२ जना यात्रुको दुःखद निधन भएको छ ।

कहाली लाग्दो श्रृंखलाका पछाडी कहिले विमानमा प्राविधिक समस्या त कहिले चरासँग विमान ठोकिनु अनि खराव मौसम नै मुख्य कारण रहेको खुल्न आएको छ । बढ्दो हवाई दुर्घटनालाई न्युनिकरण गर्न सरकार र नागरिक उड्ययन प्राधिकरणले कुनै ठोस पहल गरेकै देखिँदैन ।

यसमा उनीहरुको व्यवस्थापनकै कमजोरी मुख्य दोषी पाइएको छ । दुर्घटना भइसकेपछि घटनाको वास्तविकता पत्ता लगाउन छानविन समिती गठन गर्ने र घटना सेलाउँदै गएपछि समितिले दिएको प्रतिवेदनलाई दराजमा थन्क्याएर राख्ने सरकारी नीतिले पनि विमान दुर्घटनालाई बढावा दिएको छ ।

नेपालको भौगोलिक अवस्था र मौसम खरावीजस्ता कारण पनि हवाईयात्राका मुख्य चुनौती हुन् । पुराना र धेरै वर्ष प्रयोगमा आइसकेका विमानलाई समय–समयमा मर्मत नगरिँदा पनि दुर्घटना वढ्दै गएको तथ्यलाई नकार्न सकिँदैन । दक्ष प्राविधिक र पाइलटको अभावले पनि यस्तो त्रास वढाएको छ ।

नेपाली आकाशमा विमान दुर्घटना दोहोरिने श्रृंखलाले नेपाली हवाई क्षेत्रप्रति नै प्रश्नहरु उठ्न थालेका छन् । के साँच्चै नै नेपाली आकाश असुरक्षित नै छ त भन्ने प्रश्न यतिबेला चुनौतीका रुपमा उभिएको छ । तर, विज्ञहरु भने नेपाली आकाशलाई असुरक्षित मान्न चाहदैनन् । पाइलट जिम्मेवार नहुँदा विमान दुर्घटना निम्तने गरेको उनीहरुको भनाइ छ ।

पाइलट जिम्मेवार हुनुपर्छ : कुमार चालिसे (हवाई विज्ञ)

नेपालमा उड्डयन संस्कार नै छैन । यो क्षेत्र वा व्यवसाय धेरै गम्भीर हो । यो क्षेत्रमा लाग्न ठूलो नैतिकता र जफावदेहीता चाहिन्छ । पछिल्लो समयमा पाइलट पढेर र १० महिना तालिम लिएर आउँछन् । जहाज उडाउन सुरु भइहाल्छ ।

सञ्चालकले यत्रो पैसा लगानी गर्छ तर, कुन ठाउँमा उडाउने, कस्तो मौसममा जहाज सिकाउनेजस्ता कुरा पाइलटले सोच्ने निर्णय लिने हो । सेफ्टी डाइरेक्टरले के सिकाउँछन् ? जहाज कस्तो मौसममा उडाइन्छ ? काठमाडौंकै डाँडाहरु हुस्सोले भरिसक्यो । मनसुन सुरु हुनु लागिसक्यो । यस्तो अवस्थामा पाइलट गम्भीर हुनैपर्छ । मौसमको ख्याल गर्नुपर्छ ।

कुमार चालिसे (हवाई विज्ञ)

तर, ध्यान नदिने भनौं वा हेलचक्राई गर्दा जहाज दुर्घटना हुन्छ । नेपाली आकाश सुरक्षित छ । तर, जोखिमपूर्ण पनि उत्तिकै छ । जहाज पुरानो थियो वा मौसमी खराबको कारणले दुर्घटना भयो भनेर पन्छिने अवस्था छैन ।

सिभिल एभिएसनको नियम के छ भने जहाज उडाउन बसिकसेपछि पाइलटले अन्य टावर वा अन्य जहाजका पाइलटसँग गफ गर्न मिल्दैन । त्यो काम त कोपाइलटको हो । जस्तो, सवारी साधन गुडाउँदा चालकले अन्य चालकसँग गफ गरेर हिँड्न मिल्छ ? मिल्दैन नि । दुर्घटना त्यसैगरि निम्तन्छ ।

जोमसोम, ताप्लेजुङ, लुक्ला, डोल्पा र सिमिकोट नेपाली विमानस्थलमध्येकै जोखिमपूर्ण मानिन्छन् । जस्तोसुकै अनुभवी पाइलटले पनि ल्याण्ड गर्दा धेरै कुरा सोच्नुपर्ने हुन्छ । उ डराएकै हुन्छ । तर, लापरबाही गर्छ भने उसले दुघर्टना त निम्त्याउँछ नै ।
मेरो ५० वर्षको अनुभव र ८ वर्षको पढाइले के भन्छ भने अधिकांश जहाज दुर्घटनाको मुख्य कारण पाइलटकै लापरबाही हो । पाइलटले कहिल्यै पनि टावरसँग गफ गर्न मिल्दैन । कोपाइलटले मात्रै कुरा गर्ने हो । यसलाई रेडियो टेलिकम्युनिकेशन भनिन्छ ।

क्याप्टेनको सिटमा वसेका पाइलटलाई क्याप्टेन भन्निछ । कोपाइलट सिटमा बसेको पाइलट नै भएपनि उसले टावरसँग गफ गर्छ । जहाज उडाउँदा र बसाल्दा सबै कुरा सिकाएकै हुन्छन् । तर, सिकेको कुरा व्यवहारमा अक्षरक्ष पालना नहुँदा दुर्घटना निम्तिछ ।


नेपाली उड्डयन क्षेत्रमा युरोपियन मापदण्डका नियम छन् । युवा पाइलट धेरै छन् । उनीहरुले आफ्नो कर्तव्य पुरा गरिरहेकै छन् । तर, हामी चुक्छौं कहाँ ? यति धेरै अनुभव हुँदाहुँदै पनि पाइलटहरु नै शंकाको घेरामा परेका छन् । सबै पाइलट त भन्दिन । तर, अधिकांश घटनामा पाइलट जिम्मेवार देखिएका छन् । कर्तब्य निर्वाह गर्ने कुरामा पाइलटले लापरबाही गर्दा दुर्घटना निम्तिन्छ । अध्यारोमा गएपछि जहाज कोल्टे छ कि, नोज डाउन वा नोज अफ के छ भन्ने कुरा राम्रो पाइलटले मात्रै देख्छ ।

उड्डयन क्षेत्रमा अहिले धरै आधुनिक प्रविधि आइसके । तर, त्यही पनि हामी पढ्न मन पराउँदैनौं । तलिम अवधिभर मुस्किलले कमै बस्छन् । पुरानो जहाज भन्छौं । अहिले पनि दोश्रो विश्वयुद्धमा चलेका जहाज आकाशमा उडेका छन् ।

सरकारले छानविन समिति बनाउँछ । प्रतिवेदनमा केही अस्वाभाविक बुँदा हालेर दुर्घटनालाई ट्वीस्ट गर्न खोज्छन् । तर, पाइलटलाई कारबाही र पुरस्कारको मापदण्ड हुँदाहुँदै पनि समयमा कारबाही नहुँदा दुर्घटना निम्तिने गरेको देखिन्छ ।

जाँच आयोग गठन

सरकारले तारा एयर दुर्घटनाका सम्बन्धमा छानविन गर्न जाँच आयोग गठन गरेको छ । बरिष्ठ एरोनटिकल ईन्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय अयोग गठन भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार आयोग गठन गर्दै प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।

आयोगको सदस्यमा क्याप्टेन दिपुराज ज्वार्चन, बरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, बरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

१० जनाको शव काठमाडौं ल्याइयो

तारा एयर दुर्घटनामा परेर मृत्यु भएकामध्ये १० जनाको शव सोमबार काठमाडौं ल्याइएको छ । मुस्ताङको थासाङ गाउँपालिकास्थित सानोसरेमा भएको तारा एयर दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जनाले ज्यान गुमाएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २१ जनाको शव भेटिए पनि पहिलो चरणमा १० जनाको शव काठमाडौं ल्याइएको हो । सेनाको हेलिकप्टरबाट शव काठमाडौं ल्याई त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । प्रतिकुल मौसमका कारण एक जनाको शव खोजी भइरकेको जानकारी उनले दिए ।

विमान दुर्घटनामा कहिले कति मृत्यु

— सन् १९४६ मे ७ मा रोयल फोर्स एयर दुर्घटना मानविय क्षति भएन ।

— सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना, २ को मृत्यु

— सन् १९५६ मा इण्डियन एयरलाईसको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु ।

— सन् १९५७ मा इन्डियन एयरलाइन्स पाट्नेभञ्ज्याङ, टीकारभैरवमा दुर्घटना, २० जनाको मृत्यु ।

— सन् १९५८ मा इण्डियन एयरलाईन्सको विमान टिकाभैरवमा दुघर्टना, २० जनाको मृत्यु ।

— सन् १९६० मा नेपाल वायूसेवा निगमको विमान भैरहवामा दुघर्टना, ४ जनाको मृत्यु ।

— सन् १९६२ मा नेपाल वायूसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना, १० जनाको मृत्यु ।

— सन् १९६२ मा नेपाल वायुसेवा –निगमको विमान ढोरपाटनमै दुर्घटना, ६ जनाको मृत्यु ।

— सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना, ३५ जनाको मृत्यु ।

— सन् १९७० मा रोयललाईट जोमसोममा दुघर्टना, एक जनाको मृत्यु ।

— सन् १९७२ मा रोयल लाईट धुलिखेलमा दुर्घटना, ३१ जनाको मृत्यु ।

— सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना, ५ जनाको मृत्यु ।

— सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना, ६ जनाको मृत्यु ।

— सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना, ६ जनाको मृत्यु ।

— सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना, १० जनाको मृत्यु ।

— सन् १९८४ मा नेपाल एयरलाइसको विमान भोजपुरमा दुर्घटना, १५ जना मृत्यु ।

— सन् १९८५ मा नेपाल आम सवार विमान दुर्घटना, २५ जनाको मृत्यु ।

— सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना, ११३ जनाको मृत्यु ।

— सन् १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भटटेडाँडामा दुघर्टना, १६७ जनाको मृत्यु ।

— सन् १९९२ मा एभरेष्ट्र एयरको विमान दुर्घटना, १८ जनाको मृत्यु ।

— सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना, २ जनाको मृत्यु ।

— सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना, एक जनाको मृत्यु ।

— सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना १८ जनाको मृत्यु ।

— सन् १९९८ मा एशियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना, ३ जनाको मृत्यु

— सन् १९९८ मा नेपाल एयरलाइन्सको विमान सोलुमा दुर्घटना, १ जनाको मृत्यु ।

— सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना, ५ जनाको मृत्यु ।

— सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना, १० जनाको मृत्यु ।

— सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना, २५ जनाको मृत्यु ।

— सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु ।

— सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना, ४ जनाको मृत्यु ।

– सन् २००२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना, १८ जनाको मृत्यु ।

— सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना, ३ जनाको मृत्यु ।

— सन् २००५ मा एयर डाइनेटिकको विमान रामेछापमा दुर्घटना, ३ जनाको मृत्यु ।

— सन् २००६ मा यती एयरलाइसको विमान जुम्लामा दुर्घटना, ९ जनाको मृत्यु ।

— सन् २००६ मा यती एयरलाइसको विमान लुक्लामा दुर्घटना, १९ जनाको मृत्यु ।

— सन् २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना, १४ जनाको मृत्यु ।

— सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना, २२ जनाको मृत्यु ।

— सन् २०११ मा बुद्ध एयरको विमान लतिलतपुरमा दुघर्टना, १९ जनाको मृत्यु ।

— सन् २०१२ मा अग्नी एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना, १५ जनाको मृत्यु ।

— सन् २०१२ मा सीता एअरको विमान भतपुरमा दुर्घटना, १९ जनाको मृत्यु ।

— सन् २०१५ मा टर्किस एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति भएन ।

— सन् २०१८ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बंगला एयरलाइन्सको दुर्घटना, ४५ जनाको मृत्यु ।

— सन् २०१८ मा नुवाकोट अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु ।

— सन् २०१८ मा हुम्लाको सिमिकोट मकालु एयरको विमान दुर्घटना, २ जनाको मृत्यु ।

— सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु ।

— सन् २०२२ मे २९ मा मुस्ताङको थासाङ गाउँपालिकास्थित सानुसरेमा मा दुर्घटना, २२ जनाको मृत्यु

प्रतिक्रिया