काठमाडौं । आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको उक्त ट्वीनअटर विमान रातिसम्म भेटिएको छैन । ‘नाइन एन–एइटी’ कल साइन भएको उक्त जहाज खोज्न दिनभरजसो नेपाली सेना र अन्य निजी हेलिकप्टरले प्रयास गरे पनि सफल हुन सकेन । आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडान भरेको उक्त विमान अन्तिमपटक १० बजेर ७ मिनेटमा जोमसोम विमानस्थलस्थित टावरको सम्पर्क आएको थियो ।
विमानमा तीन जना चालकदलका सदस्य र १९ जना यात्रु सवार थिए । यात्रुमध्ये ६ जना विदेशी थिए । विमानमा ४ भारतीय र २ जर्मन र १३ जना नेपाली नागरिक सवार थिए । मुस्ताङको लेते र घोरेपानी आसपास क्षेत्रमा विमान खसेको आशंका गरिए पनि त्यसको आधिकारीक पुष्टी हुन सकेको छैन । मौसम प्रतिकुल भएपछि आइतबार राति विमानको खोजी कार्य स्थगित गरिएको छ । सरकारले सोमबार विहान ६ बजेदेखि नै विमानको खोजीमा जुट्ने तयारी थालेको छ । सम्पर्कविहीन विमानबारे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले संघीय संसदलाई जानकारी दिएका छन् ।
मन्त्री आलेले सम्पर्कविहीन जहाज र वेपत्ता यात्रुको उद्धारका लागि आइतबार दिनभर प्रयास गर्दा पनि मौसमको खराबीका कारण सफल हुन नसकेको बताए । उनले भने, ‘जोमसोम र पोखरामा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको छ । खोजी कार्यमा तालिमप्राप्त व्यक्तिहरु पनि सक्रिय छन् । सोमबार विहान ६ बजेबाट खोज तथा उद्धार कार्य पुनः सुरु हुनेछ ।’
सम्पर्कविहीन भएको जहाज अनुभवी सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले मौसमको खराबीका कारण आइतबार दिनभरको प्रयासमा पनि जहाजको अवस्था पत्ता लगाउन नसकिएको बताए । उनले सोमबार विहानैदेखि हवाई र स्थलमार्ग हुँदै खोजी कार्य सुचारु राख्ने जानकारी दिए । सेनाको उद्धार टोली जोमसोम र पोखरामा तयारी अवस्थामा रहेको सिलवालले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि तारा एअरको जहाजको अवस्था अज्ञात रहेको बताएको छ । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले खोजबिन कार्यलाई साँघुरो बनाइए पनि हालसम्म विमानको अवस्था अज्ञात रहेको जनाएको छ ।
‘ट्वीनटर विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रीत गरिएकोमा खराब मौसम र जटिल भूगोलका कारण हालसम्म अवस्था अज्ञात नै रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘२४ सै घन्टा रेस्क्यू कोअर्डिनेसन सेन्टर खुला रहनेगरी खोजबिन कार्यलाई स्थल एवं हवाई माध्यमबाट सघन बनाउने व्यहोरा जानकारी गराइन्छ ।’
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मौसम खराबीका कारण बेपत्ता जहाजको खोजी कार्यमा समस्या आएको बताए । उनले टुकुचे र धवलागिरि क्षेत्र आसपासबाट विमान सम्पर्कविहीन भएको आशंका गरिएको बताए ।
यसैबीच, आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेर सम्पर्कविहीन रहेको तारा एयरको ट्वीनअटर विमान ४३ वर्ष पुरानो थियो । ‘नाइन एन–एईटी’ कल साइन भएको उक्त जहाज सन् १९७९ मा बनेको बताइएको छ । उक्त विमान क्यानडामा बनेको हो । विमानको निर्माण कम्पनी डि ह्याभिल्याण्ड क्यानडा हो ।
‘कम उचाइमा पटकपटक घुमेको थियो’
सम्पर्कविहीन रहेको उक्त जहाज आइतबार विहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो । हल्का वर्षा भइरहेको समयमा घरभन्दा केही माथिबाट जहाज दुई—तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले बताएका छन् ।
‘हामी खाना खाँदै थियौँ, जहाज औसतभन्दाा कम उचाइबाट धेरै पटक घुमेको थियो । हल्का कुहिरो लागेर पानी परिरहेको थियो । यसअघि मुस्ताङ जान जहाज यति धेरै तल आएको मैले देखेको थिइन,’ उनले भनेका छन् ।
उनका अनुसार घरमै ठोकिएला जसरी जहाजले फन्को मारेको थियो । ‘घरमै ठोकिन्छ जस्तो गरेर दुई÷ तीन पटक घुम्यो । हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ । केहीबेरमा अलिमाथि उडेर गयो । पानी परेकाले घुमेको होला भन्ने लागेको थियो,’ उनले भने ।
को को थिए जहाजमा
चालक दल
० क्याप्टेन प्रभाकर घिमिरे
० क्याप्टेन उत्सव पोखरेल
० विमान परिचालिका क्रिष्टी थापा
यात्रुहरु
० ईन्द्रबहादुर गोले
० पुरुषोत्तम गोले
० राजनकुमार गोले
० वसन्त लामा
० गणेशनारायण श्रेष्ठ
० रविना श्रेष्ठ
० रश्मी श्रेष्ठ
० रोजिना श्रेष्ठ
० प्रकाश सुनुवार
० मकरबहादुर तामाङ
० राममाया तामाङ
० सुकुमाया तामाङ
० तुलसादेवी तामाङ
० अकोशकुमार त्रिपाठी
० रितिका त्रिपाठी
० धनुष त्रिपाठी
० बन्देकर बाजभवी
० वी. विल्नर
० मेइक ग्रिट ग्राफ
प्रतिक्रिया