मन्त्री बडुले संसदमै पूर्वप्रधानमन्त्री ओलीलाई कमिसन खाएको आरोप लगाएपछि…

काठमाडौं । नेकपा एमालेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको भनाईप्रति आपत्ति जनाएको छ । शुक्रबार दिउँसो संसद् बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री वडुले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू सरकारमा हुँदा कमिसन खाएको आरोप लगाएपछि एमालेका सांसद् उठेर विरोध गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता बिहीबार केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई मन्त्री बडुले स्तरहीन भनेका थिए । त्यस लगत्तै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरेका हुन् । मन्त्री बडुले माफी माग्नुपर्ने माग गर्दै संसद्मा अवरोध सिर्जना भएको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति जनाउँदै संसद‍को रेकर्डबाट हटाउन आग्रह गरेका छन् । उनले मन्त्री पदमा बसेर असंवैधानिक तर्क गर्न नहुने बताए । भट्टराईले गलत गरेको भए छानविन गरेपछि कारबाही भोग्न तयार रहेको बताउँदै मन्त्री जस्तो व्यक्तिले रोस्टममा उभिएर निराधार आरोप नलगाउन आग्रह गरे ।

एमालेको आपत्तिपछि सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षको माग बमोजिम गलत विषय रहे रेकर्ड हेरेर आवश्यक निर्देशन दिने बताए । एमालेका सांसदले कुर्सीबाट उठेर निरन्तर विरोध जनाएपछि सभामुखले १५ मिनेट संसद् बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया