शुक्रबहादुर राई बने च्याम्पियन

सूर्य नेपाल गल्फ

काठमाडौं । प्रोफेसनल गल्फर शुक्रबहादुर राई ३ अन्डर ६९ को स्कोरसहित समग्रमा १९ अन्डर २६९ को सानदार नतिजामा सूर्य नेपाल गल्फ टूर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन बन्न सफल भएका छन् ।
करियरकै उत्कृष्ट स्कोर निकालेका धरानका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौ उपाधि हात पारे । उपाधिसँगै जितेको नगद दुई लाख पचास हजारले शुक्र पहिलो पटक नेपाल नम्बर एक गल्फर बनेका छन् । उनले यो सिजनको कुल आठमध्ये पाँच प्रतियोगिता मात्र खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कार सहित नम्बर एक बनेका हुन् ।

२ ओभर ७४ सहित समग्रमा १३ अन्डर २७५ सहित निरज दोस्रो भए । समग्रमा १२ अन्डर २७६ सहित तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए । उनले अन्तिम दिन २ अन्डर ७० स्कोर जोडे । यो सिजन कुल ५ लाख ८० हजार ५ सय नगद पुरस्कार सहित दोस्रो स्थानमा तल झरे ।

एमेच्योर वाङ्गचेन ढोन्डुपले १ ओभर ७३ सहित समग्रमा ११ अन्डर २ सय ७७ सहित एमेच्योरतर्फ उपाधि जिते । समग्रमा भने उनी चौथो भए । अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०अन्डर २७८ सहित एमेच्योरतर्फ दोस्रो भए । उनले अन्तिम दिन ३ अन्डर ६९ को स्कोर गरे । समग्रमा भने उनी पाँचौं भए ।

एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुबाश तामाङले समग्रमा ७ अन्डर २८१ सहित पुर्ण बहादुर शर्मासँग संयुक्तरुपमा छैटौँ स्थान बाँडे । सुवासले ५अन्डर ६७ र पूर्णले इभन–पार ७२ मा खेल सकाए । इभन–पार ७२ सहित समग्रमा ५ अन्डर २८३ सहित एमेच्योर आरव डी शाहले आठौं स्थानमा प्रतियोगिता सकाए । भुवनकुमार रोका र रवि खड्काले समग्रमा ३ अन्डर २ सय ८५ सहित संयुक्तरुपमा नवौ स्थान बाँडे । अन्तिम दिन भुवनले २ ओभर ७४ र रविले १ ओभर ७३ मा खेल सकाए । एमेच्योर सद्भाव आचार्य समग्रमा २–अन्डर २८६ सहित एघारौं र समग्रमा इभन पार २८८ सहित सुर्य प्रसाद शर्मा १२औँ स्थानमा रहे ।

पाँच ओभर २९३ सहित व्यावसायिक तर्फ १५औँ भएका जयराम श्रेष्ठले चार लाख ७५ हजार ५ सयसहित उनले आगामी सिजनको सुरुवात तेस्रो स्थानबाट गर्नेछन् । च्याम्पियन शुक्रले बिहीबार पहिलो होलमा बोगी खेपे पनि तेस्रो र सातौ होलको बर्डीले फ्रन्ट नाइन १ अन्डर ३५ मा सकाए । यसपछि ११ औ, १२ औ र १८ औ होलमा एक÷एक सट बचाउँदा १४ औ होलमा बोगी प्रहार गर्दा ब्याक नाइन २ अन्डर ३४ मा पुरा गरे ।

दोस्रो भएका निरजले फ्रन्ट नाइन इभन पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौ होलमा बर्डी प्रहार गरे भने चौथो र पाँचौं होलमा एक–एक सट खेर फाले । यसपछि १४औँ र १५औँ होलको बोगीले ब्याक नाइन २–ओभर ३८ मा सकाए । सूर्य नेपाल टूरमा लामो समय सहयोग गर्ने रामजी राजबाहक तथा रमेश नगरकोटी र समिर तामाङलाई कदरपत्रसहित सम्मान गरियो ।

चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योरसहित ५४ खेलाडीको सहभागिता रहेको थियो । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको छ । विजेताले दुई लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ५५ हजार र १ लाख दश हजार प्राप्त गरे । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया