‘प्रेमगन्ज’ को ‘तरबार’ मा बेनिशा

काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’ को पहिलो गीत ‘तरबार’ सार्वजनिक भएको छ । आगामी भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको उक्त गीत मंगलबार राजधानीमा सार्वजनिक गरिएको हो । ‘तरबार’ बोलको गीतमा अभिनेत्री बेनिशा हमालको नृत्य रहेको छ । कार्यक्रममा बेनिशाले गीतलाई लिएर आफू साँच्चि नै उत्साहित भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘म्युजिक भिडियोदेखि फिल्मसम्म धेरै गीतमा नृत्य गरे पनि ठूलो क्यानभासमा खिचिएको यो पहिलो गीत हो । म त हप्ता दिनदेखि नै यो गीतलाई लिएर निकै उत्साहित थिएँ । दर्शकलाई पनि मनपर्छ भन्ने आशा राखेकी छु ।’

परिच्छेद सेनको लेखन तथा निर्देशनमा बनेको यसै चलचित्रमार्फत तेज गिरीले डेब्यु गर्दैछन् । बैंकरसमेत गिरीले फरक क्षेत्रबाट चलचित्र क्षेत्रमा आउँदा माया र आशीर्वादको खाँचो रहेको बताए । उनले भने, ‘इमान्दारीका साथ फिल्म बनाएकाले दर्शकले पक्कै साथ दिनुहुनेछ भन्ने आशा राखेको छु ।’ सार्वजनिक उक्त गीतमा तेज गिरीको समेत अभिनय छ । चलचित्र चौतारीको प्रस्तुति रहेको ‘प्रेमगन्ज’ लाई स्पटब्वाई राजु फुयालको सहयोगार्थ निर्माण गरिएको हो । चलचित्रमा अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । निर्माता अनन्तमानले चलचित्र क्षेत्रमा कर्पोरेट क्षेत्रको पनि लगानी हुनुपर्ने धारणा व्यक्त गरे । उनले कर्पोरेट क्षेत्रको लगानी रहेमा मात्र यो क्षेत्रको उन्नति हुन्छ भन्ने सोचले चलचित्र क्षेत्रमा हात हालेको बताए । उनले भने, ‘हामीलाई यो क्षेत्रमा ल्याउने श्रेय निर्देशक परिच्छेदजीलाई नै जान्छ । खासमा भित्रिया भएर नै नेपाली फिल्म क्षेत्रलाई बुझौँ न भनेर हामीले यो फिल्मको निर्माण गरेका हौँ । हाम्रो यो यात्रा कति जान्छ, दर्शकमा भर पर्छ ।’

उनले दर्शकको रुचि अनुसारकै चलचित्र बनाउने कोशिस गरेको जनाए । दर्जनौं नेपाली चलचित्रको मुख्य सहायक भई काम गरेका परिच्छेदले ‘मदर’, ‘स्ट्राइक’ लगायतका चलचित्र निर्देशन गरिसकेका छन् । उनको ‘प्रेमगन्ज’ फिचरमा डेब्यु चलचित्र हो । परिच्छेदले मनोरञ्जनात्मक चलचित्र बनाउने प्रयास गरेको बताए । वाइल्ड रिपर्ज क्रिऊको कोरियोग्राफी रहेको गीतमा किरण भुसालको संगीत रहेको छ । पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर रहेको छ । सञ्जय लामाको छायांकन रहेको गीतलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । निर्माण पक्षका अनुसार चलचित्रमा तेज र बेनिशासँगै अभिनेत्री सम्पदा बानियाँ, सुरक्षा पन्त, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, पवन भट्टराई, सन्जोग रसाइली, गित विष्ट लगायतका कलाकारको अभिनय छ । यसै चलचित्रबाट प्रशन्न श्रेष्ठ, सुप्रिया खनाल र सिमरन खड्काले डेब्यु गर्दैछन् ।

प्रतिक्रिया