कम्युनिस्टहरूको फुटले सधैँ कांग्रेसलाई फाइदा

ललितकुमार यादव

सत्तामा पुगेपछि कम्युनिस्टहरू निरंकुश अधिनायकवादीमा परिणत हुने गरेको विश्वभरि देखिएको छ । विश्वभरका सबैजसो कम्युनिस्ट पार्टीहरूले सत्ताको दुरुपयोग गरेको पाइएको छ । कम्युनिस्ट पार्टीहरू अन्तरसंघर्ष व्यवस्थापन गर्न नसकेकै कारण विभाजन हुनेसम्म पुग्छन् ।

हालै सम्पन्न ३० वैशाखको स्थानीय निर्वाचनले हाम्रा लागि विभिन्न सन्देशहरू छोडेर गएको छ । ती सन्देशहरूलाई आमनेपाली जनता र राजनीतिक दलले कसरी लिन्छन्, मुलुकले लिने आगामी बाटोको तय त्यसैले गर्नेछ । सबैले सकारात्मक सन्देश मात्र लिनुपर्छ र आमनेपाली जनताको लालसा पूरा गर्ने गरी अगाडि बढ्नुपर्छ । अहिलेसम्म सार्वजनिक भएको मत परिणाम र जारी मतगणनाको आधारमा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो हुने सजिलो संकेत देखिएको छ । ०७४ सालको स्थानीय निर्वाचनमा २ सय ९४ अर्थात ३९ प्रतिशत पालिका जितेर एमाले पहिलो दल बनेकोमा यसपटकको निर्वाचनबाट ३ सय २० भन्दा बढी ४५ प्रतिशत हाराहारीको पालिका जितेर कांग्रेस पहिलो दल बन्दै छ ।

अघिल्लो निर्वाचनमा २ सय ६६ अर्थात ३५ प्रतिशत पालिकामा कांग्रेसले चित्त बुझाएकोमा अहिले एमालेले दुई सयभन्दा केही बढी २८ प्रतिशत हाराहारीको पालिकामा जित्दै दोस्रो स्थानमा चित्त बुझाउनुपर्ने देखिन्छ । माओवादीले आफ्नो अवस्थामा सामान्य सुधार गर्दै ०७४ सालको भन्दा पाँच प्रतिशतको हाराहारीमा बढी पालिका जितेर तेस्रो स्थान सुरक्षित गर्ने देखिन्छ भने जसपा अघिल्लो निर्वाचनकै हाराहारीमा रहने देखिन्छ । वैकल्पिक राजनीतिक शक्तिको रूपमा हेरिएका दलहरूभन्दा स्वतन्त्र उम्मेदवारहरूको प्रभाव राम्रो देखिएको छ । स्वतन्त्र उम्मेदवारमा पनि काठमाडौंमा बालेन शाहले पाएको मतबाट राजनीतिक दल नै चकित भएका छन् र अहिले पूरै देशको ध्यान बालेनले प्राप्त गर्ने जम्मा मततिर रहेको छ । एकीकृत समाजवादीले सामान्य नतिजा निकाल्ने प्रयासमा रहेको छ भने जसपा बाहेकको मधेसी दललाई अस्तित्व रक्षा गर्न नै संकट परेजस्तो छ ।
एउटा शक्तिको रूपमा उदाउने अड्कल गरिएको सिके राउत नेतृत्वको जनमतले पनि सोचेजस्तो प्रदर्शन गर्न नसकेको देखिन्छ । यद्यपि निर्वाचनको अन्तिम नतिजा आउन बाँकी नै रहेकोले यस आलेखमा गरिएको अनुमानभन्दा अन्तिम नतिजा फरक पनि हुन सक्छ ।

यस निर्वाचनमा कांग्रेस नेतृत्वमा पाँच दलले चुनावी गठबन्धन गरेको छ । देशव्यापी गठबन्धनको प्रयास भए पनि २ सय ९ अर्थात २८ प्रतिशत पालिकामा मात्र पूरै सेटमा तालमेल भएको छ । देशव्यापी गठबन्धन सम्भव भएको भए माधव नेपालको भनाइमा एमालेको बेहाल नै हुन्थ्यो । अहिले नै एमालेलाई कांग्रेस र मओवादीले कडा टक्कर दिएका छन् भने कतिपय पालिकामा समाजवादीले पनि टक्कर दिएको छ । ०७४ सालमा पनि केही पालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो तैपनि एमालेलाई खासै असर गरेको थिएन । तर अहिले एमालेले आफ्नो गढकै रूपमा हेरेको केही पालिका गुमाउनुपरेको छ । एमालेलाई पछि पार्दै काठमाडौंमा बालेनले, पोखरामा गठबन्धनले अग्रता लिएको छ भने हेटौँडामा गठबन्धनले बाजी मारेको छ । कुनै महानगरहरूमा एमालेले मेयर पदमा चुनाव जित्न सकेन । यसपालि महानगरको नेतृत्व गर्नबाट एमाले वञ्चित भएको छ । बढीमा दुई देखि तीन उपमहानगरको नेतृत्व गर्ने अवसर मात्र एमालेलाई प्राप्त हुने संकेत देखिएको छ ।

सत्तामा पुगेपछि कम्युनिस्टहरू निरंकुश अधिनायकवादीमा परिणत हुने गरेको विश्वभरि देखिएको छ । विश्वभरका सबैजसो कम्युनिस्ट पार्टीहरूले सत्ताको दुरुपयोग गरेको पाइएको छ । कम्युनिस्ट पार्टीहरू अन्तरसंघर्ष व्यवस्थापन गर्न नसकेकै कारण विभाजन हुनेसम्म पुग्छन् । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ पाँच जना संस्थापक रहेको नेपाल कम्युनिस्ट पार्टी २००६ साल वैशाख १० मा स्थापना भयो । नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । स्थापनादेखि नै नेकपामा सुरुआत भएको विवादले ०१९ सालमा पहिलो औपचारिक विभाजनको रूप लियो ।

पञ्चायत विरुद्धको आन्दोलनमा दर्जनौँ टुक्रामा विभाजित रहेको कम्युनिस्ट पार्टीहरूसँग सहकार्य नगर्ने चेतावनी जनआन्दोलन ०४६ का सर्वोच्च कमान्डर गणेशमान सिंहले दिए । दर्जनौँ टुक्रामा रहेका कम्युनिस्टहरूले गणेशमान सिंहको आग्रह अनुसार ०४६ सालको जनआन्दोलनअघि संयुक्त वाममोर्चा बनाए । पञ्चायतविरुद्ध लड्न संयुक्त वाममोर्चाले कांग्रेससँग मिलेर संयुक्त आन्दोलन ग¥यो । आन्दोलन सफल भयो र नेपाली कम्युनिस्टहरूले एकताको महसुस ग¥यो ।

मदन भण्डारीले नेतृत्व गरेको माले र मनमोहन अधिकारीले नेतृत्व गरेको माक्र्सवादीबीच ०४७ साल चैतमा ऐतिहासिक पार्टी एकता सफल भई नेकपा (एमाले) को गठन भयो । पछि नेकपा (अमात्य) पनि नेकपा (एमाले) मा एकीकृत भयो । त्यसै गरी नेकपा (माओवादी), नेकपा (चौम), नेकपा (मसाल), नेकपा (वर्मा), नेकपा (मानन्धर) र नेपाल मजदुर किसान लगायतका पार्टीबाट थुप्रै नेता र कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।

नेकपा (एमाले) को पाँचाँै राष्ट्रिय महाधिवेशन (२०४९ माघ १४–२०) ले पार्टीको कार्यक्रम र क्रान्तिको सिद्धान्त (मार्गदर्शक सिद्धान्त) को रूपमा जनताको बहुदलीय जनवादलाई पारित ग¥यो । जबजको प्रतिपादक जननेता मदन भण्डारी हुन् । जबज माक्र्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपाल परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो । यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । नेकपा (एमाले) ले ०४८ सालमा तत्कालीन प्रतिनिधिसभाका एकतिहाइ सिटमा विजय प्राप्त ग¥यो । जननेता मदन भण्डारीप्रति लक्षित गरी न्युजविकले लेखेको थियो नेपाल, जहाँ कार्ल माक्र्स जीवित छ ।

नेकपा (एमाले) ०५१ सालमा भएको मध्यावधि चुनावमा ठूलो पार्टी बनेको थियो । यद्यपि बहुमत प्राप्त गर्न सकेको थिएन । नेपालको इतिहासमा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी भए । नौ महिने अल्पमतको सरकारले ल्याएको कार्यक्रम अहिले पनि लोकप्रिय छ र चर्चा पनि हुने गरेको छ । सानो समयमै सरकारले गरेको कामबाट लोकप्रिय र जनमुखी सरकारको पहिचान बनाउन सफल भयो । सरकारले सुरु गरेको आफ्नो गाउँ आपैmँ बनाउ र वृद्ध भत्ता दिने कार्यक्रमको ब्याज एमालेका नेताहरू अहिलेसम्म खाइरहेका छन् । त्यसपश्चात अहिलेसम्ममा पाँच वटा सरकारको नेतृत्व एमालेले र तीन वटा सरकारको नेतृत्व माओवादीले गरेको छ, तर जनतालाई कम्युनिस्ट नेतृत्वको सरकारको अनुभूति गराउने कार्य कुनै सरकारले गर्न सकेनन् । बिर्सिनै नसकिने गरी लोकप्रिय पनि हुन सकेनन् । सहभागिताको कुरा गर्ने हो भने त्यसयताको लगभग हरेक सरकारमा कम्युनिस्टहरूको सहभागिता रहँदै आएको छ ।

०५४ सालमा एमाले विभाजन भयो । विभाजनको क्षति ०५६ सालको आमनिर्वाचनमा बेहोर्नु परेको थियो एमालेले । आमनिर्वाचन ०५६ मा ८८ सिटबाट ७१ सिटमा खुम्चिएर पहिलो दलबाट दोस्रो दलको हैसियतमा एमाले झरेको थियो । एमालेबाट विभाजित मालेले ६ दशमलव ५९ प्रतिशत मत प्राप्त गरे पनि एक सिट पनि जित्न सकेनन् भने एमालेले ०५१ मा प्राप्त गरेको सिटको १९ दशमलव ३१ प्रतिशत अर्थात १७ सिट गुमाउनुपरेको थियो । पछि ०५८ सालमा एकता भयो । तर, सिपी मैनाली लगायतका केही नेताहरू एमालेमा फर्किन स्वीकारेनन् । नेकपा (माले) पुनर्गठन गरेका थिए । त्यसयता नेकपा (माले) र सिपी मैनालीहरू नेपाली राजनीतिमा शक्तिको रूपमा देखा पर्नै सकेका छैनन् ।

१० वर्षदेखि सशस्त्र जनयुद्ध गर्दै आएको नेकपा (माओवादी) ले संसदीय व्यवस्थालाई स्वीकार गरेर २०६३ मंसिर ५ मा बृहत् शान्ति सम्झौतामार्फत मूलधारको राजनीतिमा आयो । नेपालमा १० वर्ष ९ महिना १ हप्ता र १ दिनसम्म सशस्त्र द्वन्द्व चलेको थियो । संविधानसभा निर्वाचन ०६४ मा सशस्त्र जनयुद्धबाट आएको नेकपा (माओवादी) प्रत्यक्षतर्फ ३० दशमलव ५२ प्रतिशत मत र १ सय २० सिट तथा समानुपातिकतर्फ २९ दशमलव २८ प्रतिशत मत र सय सिट प्राप्त गरेर पहिलो स्थान प्राप्त ग¥यो । दुईतिहाइ बहुमतको गठबन्धन सरकारको नेतृत्व गर्दै माओवादी अध्यक्ष प्रचण्ड नेपालको इतिहासमा दोस्रो कम्युनिस्ट प्रधानमन्त्री भए । नौ महिनामै आफ्नै गल्तीले माओवादी सत्ताबाट बाहिरिनुपरेको थियो । त्यसवेला माओवादी र आपूmबाट गल्ती भएको कुरा स्वयं प्रचण्डले नै स्वीकार गरिसकेका छन् । अहिलेसम्म आइपुग्दा प्रचण्डलाई युद्धमा साथ दिएका र नेतृत्वकै दावा गर्न सक्ने नेताहरू प्रचण्डसँग छैनन् । तिनीहरू टुटफुटकै राजनीतिमा रमाएका छन् र गुमनामजस्तै छन् । संविधानसभाको निर्वाचन ०७० मा माओवादी कमजोर भयो, एमालेले आफ्नो अवस्थामा सुधार ग¥यो भने कांग्रेस पहिलो शक्तिको रूपमा फेरि उदाएको थियो ।

०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गरेको थियो तर आपेक्षित परिणाम आएन । सोही वर्ष भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा माओवादी र एमालेबीच देशव्यापी गठबन्धन भयो । मत परिणाम गठबन्धनको पक्षमा आयो । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३० दशमलव ६८ प्रतिशत मत ल्याएर ८० सिट र समानुपातिकतर्फ ३३ दशमलव २५ प्रतिशत मत ल्याएर ४१ सिट जितेर एमाले पहिलो दल बन्न सफल भएको थियो भने प्रत्यक्षतर्फ १५ शदमलव शून्य ४ प्रतिशत मत ल्याएर ३६ सिट र समानुपातिकतर्फ १३ दशमलव ६६ प्रतिशत मत ल्याएर १७ सिट जितेर माओवादी तेस्रो दल बनेको थियो । संघमा बाम गठबन्धनको मात्र बहुमत रहेको दुईतिहाइ बहुमतको गठबन्धनको सरकार एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठन भएको थियो भने मधेस प्रदेशबाहेक ६ वटै प्रदेशमा बामगठबन्धनले बहुमतको सरकार गठन गरेको थियो ।

०७५ साल जेठ ३ गते सबैभन्दा ठूलो दल नेकपा (एमाले) र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) बीच एकता भएर नेकपाको गठन भयो । नेकपा दक्षिण एसियाको सबभन्दा ठूलो र एसियाको तेस्रो ठूलो कम्युनिस्ट पार्टीको रूपमा स्थापित भएको थियो । सुरुदेखि नै विवादमा परेको एकता विभाजनको बिन्दुसम्म पुग्न तीन वर्ष पनि लागेन । पछि सम्मानित सर्वोच्च अदालतको ०७७ साल फागुण २३ गतेको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः ब्युँतियो । ०७८ भदौ २ मा एमालेबाट विद्रोह गर्दै माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) को गठन भयो । त्यसपश्चात संघदेखि प्रदेश सरकारहरूमा कांग्रेसले प्रवेश पायो । अहिले कांग्रेसकै नेतृत्वमा संघ सरकार र दुई वटा प्रदेश सरकार रहेको छ ।
नेकपाबाट एमाले र माओवादी केन्द्र छुट्टिदा माओवादी केन्द्रले आफ्ना सबै नेताहरूलाई पुरानो घरमा फर्काउन सकेका थिएनन् । केही माओवादी नेताहरू एमालेमै बसेका थिए । यसबाट माओवादीले क्षति बेहोर्नु पर्ने आँकलन गरिएको थियो । एमालेबाट नेपाल समूह बाहिरिए पनि त्यसको पूर्ति माओवादीबाट एमालेमा थपिएका नेताहरू र पछिल्लो समयमा एमाले प्रवेश गरेका अन्य दलका नेता कार्यकर्ताले गरेको दावी एमालेले गरेको थियो । एमालेले खासै क्षति बेहोर्नु नपर्ने आँकलन गरिएको थियो । तर अहिले आइरहेको मत परिणामले ती दुई पूर्व आँकलनहरूलाई गलत सावित गरिदिएको छ । एमालेले फुट र गठबन्धनको कारण ठूलो क्षति बेहोरेको छ भने बरु माओवादीले आफ्नो अवस्था सुधारेको छ । उता एकीकृत समाजवादी सानो समयमै चुनावमा जानुपरेको कारण ठूलै शक्तिको रूपमा उदाउन नसके पनि पोखरा महानगर र हेटौँडा उपमहानगरको नेतृत्व लिन सफल भएको छ । यसलाई समाजवादीको ठूलै उपलब्धिको रूपमा लिनुपर्छ । गठबन्धनकै बलमा भए पनि समाजवादीले पोखरा महानगरमा विजय प्राप्त गर्दा समाजवादीले एमालेलाई ठूलो धक्का दिएको छ । एमालेलाई जुन धक्का दिने सामथ्र्य कांग्रेससँग पनि छैन । भरतपुरमा माओवादीको जित भएमा माओवादीको ठूलो उपलब्धि मानिनेछ । काठमाडौंमा स्वतन्त्र उम्मेदवारको सामना गर्न गठबन्धन र एमाले कसैले नसकेको देखिन्छ । दलहरूलाई सच्चिन बालेन र काठमाडौंका मतदाताले अन्तिम चेतावनी दिएजस्तो छ ।

नेपालमा राजनीतिक ध्रुवीकरण आवश्यक रहेको कुरा २०७४ को निर्वाचनताकादेखि नै उठदै आएको छ । अबको नेपालको राजनीतिक निकासको बाटो भनेकै दुई ध्रुवीय राजनीति हो । तर नेपाललाई आवश्यक रहेको राजनीतिक ध्रुवीकरण हुने सकारात्मक संकेत देखिएको छैन । विगतमा ध्रुवीकरण गर्न सुरु भएको प्रयास सफल हुन सकेन । नेपालमा अहिले सक्रिय रहेका दलहरू तीन फरकफरक धारको प्रतिनिधित्व गरिरहेका छन् । एक खालका दलहरू बामपन्थी धारको प्रतिनिधित्व गरेका छन् भने अर्को खालका दलहरूले प्रजातानत्रिक धारको र केही साना दलहरू आपूmलाई प्रजातान्त्रिक धारमा उभ्याए पनि राजसंस्था र धर्मको कुरा उठाइरहेका छन् । तर मूख्य रूपमा वामपन्थी र प्रजातान्त्रिक धारका दलहरूसँगै जनाधार रहेको छ । अबको नेपाली राजनीतिको आवश्यकता वामपन्थी र प्रजातान्त्रिक धारको प्रतिनिधित्व गर्ने दुई दलीय राजनीति नै हो । अहिलेको निर्वाचनमा देखिएको रंगीविरंगी गठबन्धन राजनीतिको दीर्घकालीन आवश्यकता भन्दा पनि क्षणिक दलीय र व्यक्तिगत स्वार्थको आवश्यकता हो । गठबन्धनलाई बागिले चुनौती दिनु, देशव्यापी गठबन्धन हुन नसक्नु, गठबन्धनमा मत सटासाट सहज रूपमा नहुनु, गठबन्धनमा असन्तुष्टि पैदा हुनु नै यसको सबैभन्दा ठूलो प्रमाण हो ।

नेपाली राजनीतिको दीर्घकालीन आवश्यकता वामपन्थी र प्रजातान्त्रिक ध्रुवीकरण नै हो । विगतमा वामपन्थीहरूबीच भएको एकता व्यक्तिगत ईष्र्या, अहमता र नेतृत्वको अधिनायकवादी सोच आदि कारणले टिक्न सकेन् । जसले राजनीतिक ध्रुवीकरणको बाटोमा विराम लगाइदियो । नेपालमा बहुदलीय व्यवस्था भए पनि दलहरूलाई विश्वास गर्नुको सट्टा जनताले व्यक्तिलाई विश्वास गर्ने क्रम बढेको अहिलेको निर्वाचनले देखाएको छ । काठमाडौंको मतदाताले बालेनलाई दिएको मत त्यसको एउटा प्रमाण मात्र हो । अब पनि दलहरू सुध्रिन ढिलाइ गरेमा व्यवस्था नै खतरामा पर्दैन भनेर भन्न सकिँदैन् । रंगीबिरंगी गठबन्धन भन्दा राजनीतिक ध्रुवीकरण नेपाली राजनीतिको अबको आवश्यकता हो । यसका लागि दल र नेताहरू इमानदार हुनुको साथसाथै व्यक्तिगत ईष्र्या, अहमता र अधिनायकवादी सोचको त्याग गर्न सक्नु अत्यावश्यक रहेको छ ।

प्रतिक्रिया