महानगर मेयरमा एमाले शून्य, १२ पालिकाको नतिजा बाँकी

काठमाडौं । १२ दिनअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनमा अब १२ पालिकाकै अन्तिम नतिजा आउन बाँकी छ । गत वैशाख ३० गते देशभर ७ सय ५३ पालिकाका लागि निर्वाचन सम्पन्न भएको थियो । मंगलबार रातिसम्म ७ सय ४१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । देशभर रहेका ६ मध्ये हालसम्म ४ वटा महानगरको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । बाँकी दुई महानगर काठमाडौं र पोखराको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन) र पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले जित्ने लगभग निश्चित देखिन्छ ।

विराटनगर महानरको मेयरमा यसअघि नै नेपाली कांग्रेसका नागेश कोइराला विजयी भइसकेका छन् । मंगलबार अन्तिम नतिजा सार्वजनिक भएका ३ महानगरमध्ये वहुप्रतिक्षित भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् । सत्तागठबन्धन दलकी साझा उम्मेदवार रेनुले आफ्ना निकट्तम प्रतिद्वन्द्वीलाई १२ हजार ४ सय ४६ मतले पछाडि पारिन् । उनी ५२ हजार २८ मत ल्याउँदै मेयर पदमा विजयी भएकी हुन् । उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५ सय ८२ मत प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए । नेपाली कांग्रेसका नेता पौडेलले सत्ता गठबन्धनको निर्णयप्रति असहमति जनाउँदै बागी उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले उनलाई कारवाही गरेको थियो ।
पौडेलको उम्मेदवारीले गठबन्धनका उम्मेदवारलाई असर पर्ने अनुमान गरिए पनि रेनुको जितमा त्यसले कुनै असर पारेको देखिएन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दोस्रो पटक भरतपुरको मेयरमा निर्वाचित भएकी हुन् ।
यसअघि २०७४ सालको स्थानीय निकाय निर्वाचनबाट पनि उनी मेयरमा विजयी भएकी थिइन् । जितपछि उनले आफ्नो पहिलो कार्यकालमा अधुरो रहेका विकासका योजनाहरुलाई दोस्रो कार्यकालमा पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी विजयी भए । उनले ५२ हजार ८ सय ३ मत प्राप्त गरेका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङले ३० हजार ६ सय ११ मत प्राप्त गरिन् । यसैगरी वीरगञ्ज महानगरको मेयरमा पनि सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह विजयी भएका छन् । उनले आफ्ना निकट्तम प्रतिद्वन्द्वीलाई करिब दोब्बर मतले पछाडि पारे । सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सरावगीले २३ हजार ६ सय ७१ मतमात्र ल्याउन सके ।

वीरगञ्ज महानगरको उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भए । उनले ३० हजार ७८ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले भने ९ हजार ५ सय ६८ मतमात्र ल्याउन सके । वीरगञ्ज मधेश प्रदेशको एकमात्र महानगर हो । यसैगरी ललितपुर महानगरको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन् । उनी लगातार दोस्रो कार्यकालका लागि ललितपुरको मेयरमा विजयी भएका हुन् । उनले एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई हराए । उपमेयर पदमा भने एमालेकी मञ्जली शाक्य बज्राचार्य विजयी भइन् । उनले माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पराजित गरे ।

पोखरा महानगरको मेयरमा मंगलबार रातिसम्म एकीकृत समाजवादीका आचार्य करिब ६ हजार मतको अग्रता लिएका छन् । मतगणना अन्तिम चरणमा पुगिसक्दा आचार्यले ५७ हजार ७२ मत प्राप्त गरेका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाले ५१ हजार ५ सय ८७ मत प्राप्त गरेका छन् । उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छन् । उनले ५९ हजार ७० मत प्राप्त गरेकी छन् । उनकी निकट्तम प्रतिद्वन्द्वी कांग्रेसकी कोपिला रानाभाटले ५५ हजार ८० मत पाएकी छन् ।

यसैगरी देशको सबैभन्दा ठुलो र पुरानो महानगर काठमाडौंमा स्वतन्त्र उम्मेदवार वालेन साह आफ्ना प्रतिद्वन्द्वीहरुभन्दा निकै अगाडि छन् । उनी लगभग जितको नजिक पुगिसकेका छन् । करिब ३४ हजार मत गणना हुन बाँकी रहँदा वालेनले ५१ हजार ५ सय ९७ मत ल्याएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ५९ मत प्राप्त गरेकी छन् । उपमेयरमा भने एमालेकी सुनिता डंगोलको जित लगभग पक्का भइसकेको छ । उनले ५२ हजार ८ सय ९ मत पाएकी छन् । उनका निकट्तम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ८ सय ८४ मत ल्याएका छन् ।

यसैगरी ११ उपमहानगरमध्ये अब तुल्सीपुरको अन्तिम नतिजामात्र आउन बाँकी छ । पछिल्लो परिणाम अनुसार तुल्सीपुरको मेयर एमालेका टिकाराम खड्काले २७ हजार ३ सय ५२ र कांग्रेसका गेहेन्द्र गिरीले २४ हजार ८ सय ४ मत ल्याएका छन् । उपमेयरमा एमालेकी स्यानी चौधरीले २६ हजार ९ सय १८ र एकीकृत समाजवादीका जोगबहादुर रानामगरले १८ हजार ६ सय ९ मत ल्याएका छन् ।

देशभर केवल १२ पालिकाको अन्तिम नतिजा आउन बाँकी रहँदा कांग्रेसले ३ सय २२ पालिकामा प्रमुख र २ सय ९७ पालिकामा उपप्रमुख पद जितेको छ । दोस्रो स्थानमा रहेको एमालेले २ सय ३ पालिकामा प्रमुख र २ सय ३३ पालिकामा उपप्रमुख जितेको छ ।
यसैगरी तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ सय २१ पालिकामा प्रमुख र १ सय २८ पालिकामा उपप्रमुख पद जितेको छ । चौथो स्थानमा रहेको जसपाले ३० पालिकामा प्रमुख र ३० पालिकामा उपप्रमुख पद जितेको छ । पाँचौं स्थानमा रहेको एकीकृत समाजवादी १९ पालिकाको प्रमुख र २३ पालिकाको उपप्रमुख पदमा विजयी भएको छ ।

प्रतिक्रिया