सुप्रन्यासनलले देखाए ट्यालेन्ट

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ को अन्तिम स्पर्धा जेठ १५ गते होटल सोल्टीमा हुँदैछ । प्रारम्भिक चरणबाट छानिएका अन्तिम २० प्रतियोगी फाइनलमा शीर्ष उपाधिका लागि भिड्दैछन् ।

प्रतियोगिताको राजधानीको पुरानो बानेश्वरस्थित ग्लोबल स्कुल अफ साइन्स्मा आइतबार ट्यालेन्ट राउण्ड आयोजना गरिएको थियो । सो अवसरमा प्रतियोगीले नृत्य, अभिनय, गायन, वक्तृत्वकला, चित्रकला लगायतका विविध विषयमा प्रतिभा देखाए ।

अभिनेता पुष्प खड्का, लेखक तथा निर्देशक राज शाह, कलाकार चिराग, गायिका सोना अमात्य, मिस्टर नेपाल सन्तोष उपाध्याय, साहित्यकार जय गौडेल निर्णायक रहेको ट्यालेन्ट राउण्डका उत्कृष्ट प्रतियोगीले फाइनलमा ‘ट्यालेन्ट उपाधि’ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा युवतीतर्फ सागारिका खड्का, रञ्जिता ढकाल, दृष्टि थापा, नवीना बानियाँ, प्रतिभा न्यौपाने, अदीति अधिकारी, आयुषा चापागाई, केसु खड्का, प्रनिका श्रेष्ठ, एरी तुलाधर र युवकतर्फ प्रेमचन्द्र मण्डल, मानसकुमार राई, दीपेन्द्र शर्मा, रुपेश महत्तो, श्रीजन भट्टराई, सञ्जय तिमल्सिना, सनिस श्रेष्ठ, सन्दीपकुमार शाह, सुमन सुनार, अनिस कार्की लगायतका प्रतियोगी रहेका छन् ।

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ मिस्टर नेपाल विजेता सन्तोष उपाध्यायले पोल्याण्डबाट फ्रेन्चाइज लिएर सनुर्वी इन्टरनेसनलबाट आयोजना सुरु गरेका हुन् । ‘मिस सुप्रान्यास्नल’ पनि महिलाको विश्वप्रसिद्ध प्रतियोगितामध्ये शीर्ष ३ भित्र पर्ने गरेको छ ।

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ विजेता पुरुषले जुलाई १५ र १६ मा पोल्याण्डमा आयोजना हुने ‘मिस्टर सुप्रन्यासनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रन्यासनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ । प्रतियोगितालाई केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना गर्ने सन्तोष उपाध्यायले बताए ।

प्रतियोगी अहिले अन्तिम स्पर्धाका लागि पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी विभिन्न प्रशिक्षणसहित लिइरहेका छन् । ४ एपिसोड र एउटा ग्रान्ड फिनालेको रुपमा इमेज टेलिभिजनबाट समेत प्रतियोगिता प्रसारण हुनेछ ।

प्रतियोगिताका लागि ‘मिस्टर सुप्रान्यास्नल २०२१’ विजेता भारो भार्गोस तथा क्रिएटिभ डिरेक्टर आन्द्रे स्लेइ पनि नेपाल आउने जनाइएको छ । प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् ।

प्रतिक्रिया