नवलपुर र तनहुँ जोड्ने पुल निर्माण अलपत्र

कावासोती । पाँच वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ । नवलपरासी पूर्व नवलपुरको बौदीकाली–३, रकुवा र तनहुँको घिरिङ सुन्धारा–१, जगौली जोड्ने गरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ मंसिरमा निर्माण सम्झौता भएको पुलको काम १५ प्रतिशत मात्र सम्पन्न भएको छ । पुल निर्माणको ठेक्का लिएको महावीर, गौरीपार्वती, नीलगिरि नेसनल जेभीले समयमा नै काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो । पुलका लागि ल्याइएको सामग्री यत्रतत्र छरिएका छन् । छड लगायतका सामग्री खिया लाग्न सुरु गरेको छ । पुल निर्माणस्थलको बौंदीकाली–३ रकुवातर्फमा दुई पिल्लरबाहेक कुनै काम हुन सकेको छैन ।

पुल निर्माणस्थलमा बेलाबेला १०÷१२ जना कामदार ल्याउने र केही काम गर्ने गरेको भए पनि ०७९ वैशाखदेखि निर्माणस्थलमा कामदार आएका छैनन् । वर्षाको समयमा यसै काम नहुने र अहिले काम गर्न मिल्ले समयमा समेत निर्माणको काम नगरी अलपत्र पारेको स्थानीयवासीले समेत गनासो गरेका छन् ।

पुल निर्माणको काम ०७७ मंसिरमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको भए पनि पछि ०७८ चैतभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । त्यसपछि म्याद थप नभएको पुल योजना सेक्टर नं ४ पोखराका डिई नवराज बाँस्तोलाले बताए । सरकारले काममा लापरबाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण सम्पन्न गर्नुपर्ने समय समाप्त भइसकेकाले यस्ता कम्पनीलाई कारबाही अघि नबढाइएको स्थानीय श्याम पाटाको गुनासो छ ।

पुल निर्माणका विषयमा निर्माण कम्पनी महावीर, गौरीपार्वती, नीलगिरि नेसनल जेभिका प्रतिनिधि युवराज डाँगीसँग बुझ्दा निर्माण सामग्रीको मूल्य बढेकाले मूल्य समायोजन नभएसम्म काम गर्न नसकिने बताए । सुपरीवेक्षण गर्ने निकाय पुल योजना क्षेत्र सेक्टर नं ४ का सव इञ्जिनियर सुशील अधिकारीले हालसम्म काम सम्पन्न भइसक्नुपर्नेमा पटकपटक निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइरहेको बताए । उनले भने, ‘सम्झौताअनुसार काम नगरिदिँदा पुल निर्माणको काम १५ प्रतिशत मात्र भएको छ, हामीले ताकेता गरिरहेका छौँ ।’ कुल २२ करोड ९८ लाखको लागतमा निर्माण सुरु गरिएको पुल २ सय ११ मिटर लम्बाइको हुनेछ ।

प्रतिक्रिया