सिराहाको महनौरमा बाबु–छोराको हत्या

सिरहा । सिराहाको अर्नमा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिराहाको अर्नामा गाउँपालिका – १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षिय छोरा सन्त कुमार पालको गएराती हत्या भएको हो । सन्त कुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँले महिलाहरु सँग विवाहकाे गीत गाएर करिब १२ बजे सुतेका बाबु छोराको करिव २ बजे राति हत्या भएको स्थानीयले जानकारी दिए । स्थानीयका अनुसार राती करिव १२ बजे सम्म गीत बजि रहेको थियो, विहान पख करिव ३ बजे हत्याको घटना गाउँ भरी फैलिसकेको हुनाले २ बजेको आसपासमा घटना भएको हुनसक्ने बताए ।

घरको छुट्टाछुट्टै काेठामा बुबा र छोरा सुतेका थिए। उनीहरुलाई सुतिरहेकै ठाउँमा धारीलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ । बुवा एक्लै सुतेको र छाेरा सन्त कुमारसँग गाउँकै १०–१२ बर्षको बालक सुतेका थिए । उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएको बताइएको छ ।

महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका सन्तकुमार इमान्दार र असल छविको युवा रहेको स्थानीयले बताए । घटनाको जानकारी पाए लगतै करिब विहान ४ बजे नै घटनास्थल पुगेको प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास ढकालले घटनाबारे तत्काल केही बताउन नसकिने बताए । उनले भने, ‘घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौं, तत्काल घटनाको बारेका केही बताउन सकिन्न ।’ प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ ।

प्रतिक्रिया