ठूला दलका प्रमुख नै पराजित

सल्यानमा स्थानीयतह निर्वाचन

सल्यान । सल्यान जिल्लामा स्थानीयतहको निर्वाचनको मतगणना सकिएको छ । मत गणनासँगै सल्यान जिल्लाका ठूला दलका प्रमुखहरु भने फराकिलो मतअन्तरले पराजित भएका छन् । जिल्लामा गठवन्धन तथा एकल उम्मेदवार दिएका ठूला राजनीतिक दलका प्रमुखहरु स्थानीयतहको निर्वाचनमा पराजित भएका छन् ।

जिल्लाको वनगाड कुपिण्डे नगरपालिकामा उम्मेदवार दिएका नेकपा एमालेका अध्यक्ष गोविन्दकुमार पुन ठुलो मतान्तरले पराजित भएका छन् । नेकपामा माओवादी र नेपाली कांग्रेसको गठवन्धनका उम्मेदवार कर्णवहादुर वुढाथोकी भने २ हजार ७ सय ४६ मत वढि ल्याएर विजयी भएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट विजयी भएका पुन यो पटक भने उनै वुढाथोकी सँग फराकिलो मतान्तरले पराजित भएका हुन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति केशबहादुर विष्ट पनि छत्रेश्वरी गाउँपालिकामा पराजित भएका छन् । केही समय अगाडी सम्पन्न नेपाली काग्रेसको जिल्ला सभापतिमा निर्वाचत भएका विष्ट नेकपा एमालेका ओजबहादुर वुढाथोकी सँग पराजित भएका छन् । वुढाथोकीले १ हजार २ सय ६९ मतको फराकिलो अन्तरले विष्टलाई पराजित गरेका हुन् । यस अघि कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष विजयी भएको गाउँपालिकामा कांग्रेसले दुवै पद गुमाउन पुगेको छ ।

उसो त माओवादीले आधार इलाका भन्दै आएको वागचौर नगरपालिकामा माओवादी नै पराजित हुनपुगेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका किर्तिवहादुर पुन नेपाली कांग्रेसका जनक गौतमसँग पराजित हुनपुगेका छन् । कांग्रेसका गौतमले ४ सय २३ मतको अन्तरले जिल्ला संयोजक पुनलाई पराजित गरेका छन् ।

सदरमुकामसँग जोडिएको शारदा नगरपालिकामा पनि नेकपा एमालेका प्रदेश कमिटी सदस्य मनोज प्रधान नेपाली कांग्रेसका प्रकाश भण्डारीसँग पराजित भएका छन् । प्रधानलाई १ हजार १ सय ९० मतको अन्तरले भण्डारीले पराजित गरेका हुन् ।

यस अघि माओवादी केन्द्रले विजय हासिल गरेको कुमाख गाउँपालिकामा दुवै पद गुमाउन पुगेको छ । आफ्नो पकड वलियो भएको देखाउन एक्लै उम्मेदवारी दिएको कुमाखमा अध्यक्षका प्रत्यासी डिल्लीराज जैशीलाई नेपाली कांग्रेसका मानबहादुर वुढाथोकी र उपाध्यक्षमा धनसरा मल्ललाई एमालेका लालवहादुर रावतले पराजित गरेपछि माओवादीको विरासत कुमाखबाट गुमेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा ५ वटा स्थानीयतह विजय हासिल गरेको एमाले दुई स्थानमा खुम्चिन पुगेको छ । एमालेले विजय हासिल गरेका सिद्ध कुमाख गाउँपालिका, वनगाड कुपिण्डे नगरपालिका र कपुरकोट गाउँपालिका गुमाउदै कालीमाटी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा विजय भएको छ । कालीमाटीमा एमालेका पुरानै अनुहार दोहोरिएका छन् । यस अघिको निर्वाचनमा निर्वाचित अध्यक्ष दानवहादुर केसी र उपाध्यक्ष पदमा सनशिलता डिसी पुनःनिर्वाचित भएका छन् भने छत्रेश्वरी गाउँपालिकामा एमालेका ओजवहादुर वुढाथाकी अध्यक्षमा र वुद्धा केसी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

अघिल्लो निर्वाचनमा तीन स्थानीयतहमा निर्वाचित भएको नेपाली कांग्रेसले ५ वटा स्थानीयतहमा वर्चस्व कायम गरेको छ । यस अघिको निर्वाचनमा शारदा नगरापालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा निर्वाचत भएको कांग्रेस छत्रेश्वरी गाउँपालिका गुमाउदै कुमाख, सिद्ध कुमाख गाउँपालिका र वागचौर नगरपालिकामा विजयहासिल गरेको छ ।
अघिल्लो निर्वाचनमा तीन स्थानमा निर्वाचित भएको माओवादी केन्द्र दुइवटा स्थानीयतहमा सिमित भएको छ । यस विजयहासिल गरेको दार्मा गाउँपालिकामा विजयहासिल गरे पनि कुमाखगाउँपालिका र वागौचर नगरपालिका भने माओवादी केन्द्रले गुमाएको छ ।

जिल्लामा पहिलोपटक उम्मेदवारी दिएको एकिकृत समाजवादीले भने एउटा गाउँपालिकामा विजयहसिल गरेको छ । गठवन्धनको तर्फबाट उम्मेदवारी दिएका समाजवादीका दुर्गावहादुर पुन अध्यक्षमा र माओवादी केन्द्रका प्रकाश भण्डारी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया