मुख्य प्रशिक्षकको विकल्प खोज्नु

काठमाडौं । नेपाली फुटबल विवादको नयाँ मोड आएको छ । खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका एक उच्च अधिकारीले बताए ।

एन्फाको कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सम्मिलित समिति गठन गरेको थियो ।

एएफसी एसियन कप फुटबलको प्रशिक्षणमा रहेका खेलाडीहरुसँग मुख्य प्रशिक्षक अल्मुताइरीको खटपट भएको थियो । त्यसपछि दश जना खेलाडी प्रशिक्षण छोडेर गएका थिए । राष्ट्रिय टोलीका उपकप्तान रोहित चन्दले टिमका लागि राम्रो खाना र बस्ने व्यवस्थाको विषयमा कुरा उठाएपछि प्रशिक्षक अलमुताइरीले चन्दलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए । त्यसपछि सबै खेलाडीहरूले आफ्नो लागि रोहितले आवाज उठाएको भन्दै बन्द प्रशिक्षण छाड्ने निर्णयमा पुगेका थिए ।

छानविन समितिले एएफसी कप छनोटको समापनसँगै कतारसँग परामर्श गरेर प्रशिक्षक परिवर्तन गर्न एन्फालाई सुझाव दिएको हो । समितिले मुख्य प्रशिक्षक अल्मुताइरीले खेलाडीहरूको व्यक्तिगत जीवनमा पनि चासो राख्ने गरेको निष्कर्ष निकालेको छ । साथै छानबिन समितिले प्रशिक्षक आफै अस्वस्थ रहेको बयानको क्रममा बताएको उल्लेख गर्दै अल्मुताइरी अहिलेको जिम्मेवारी सम्हाल्न नसक्ने अवस्थामा भएको बताएको छ ।

त्यस्तै छानविन समितिले घटनाको मुख्य दोषी व्यवस्थापक रहेको ठहर गर्दै व्यवस्थापक परिवर्तन गर्न माग गरेको एन्फा स्रोतले बताएको छ । वर्तमान राष्ट्रिय टिमको व्यवस्थापकमा मधुसुदन उपाध्याय रहेका छन् । समितिले प्रशिक्षकले बारम्बार अमर्यादित शब्द प्रयोग गरेर खेलाडीलाई बन्द प्रशिक्षणबाट निस्कन बाध्य बनाएको समेत प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया