इलामका ८ स्थानीय तहका प्रमुखले लिए सपथ

इलाम । इलामको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
जिल्लाको १० स्थानीय तहमध्ये ८ स्थानीय तहको प्रमुखले सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङनामले शपथ ग्रहण गराएका हुन् ।

इङनामले इलाम नगरपालिका प्रमुख केदार थापा, देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल र माई नगरपालिकाका प्रमुख खम्बसिंह लिम्बूलाई शपथ ग्रहण गराएका हुन् । त्यस्तै सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङ, माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवे, रोङ गाउँपालिकाका अध्यक्ष मणीकुमार स्याङ्बो, माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई र चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङलाई शपथ ग्रहण गराएका हुन्

गत ३० वैसाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट इलाम नगरपालिका, सन्दकपुर, रोङ र चुलाचुली गाउँपालिकामा नेपाली कांग्रेस, देउमाई र माई नगरपालिका एवम् माईजोगमाई र माङसेबुङ गाउँपालिकामा नेकपा (एमाले) का उम्मेद्वार विजयी भएका थिए ।

फाकफोकथुम गाउँपालिकाको मतगणना विहान मात्र सकिएकोले शपथग्रहणमा उपस्थित हुन सकेनन् । फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका दिपेन्द्र खनाल विजयी भएका छन् । उता सूर्योदय नगरपालिकामा भने यो समाचार तयार पार्दासम्म गणना जारी छ । १४ वटा वडा रहेको सूर्योदयमा वडा नम्बर १४ को मतगणना बाँकी रहेको छ ।

प्रतिक्रिया