राजीव गान्धीको हत्याका आरोपी ३० वर्षपछि रिहा

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न रहेको अभियोग लागेकामध्ये एकजनालाई रिहा गर्न आदेश दिएको छ । सन् १९९१ म गान्धीको हत्याको अभियोगमा एजी पेरारिभालनले तिस वर्ष भन्दा लामो कारावास सजाय भुक्तान गरिसकेका छन् । सन् १९९८ मा उनलाई मृत्युदण्ड नै सुनाइएको थियो । तर, पछि उनको सजाय परिवर्तन गरिएको थियो ।

उन्नाइस वर्षको उमेरमा गिरफतार भएका पेरारिभालनलाई गान्धीको हत्याका लागि प्रयोग गरिएको बमका लागि आवश्यक ब्याट्रीहरूको व्यवस्था गरेको आरोपमा दोषी ठहर गरिएको थियो । चुनाव प्रचारप्रसारको क्रममा तमिलनाडु राज्यमा एउटा चुनावी ¥यालीलाई सम्बोधन गरिरहेका बेला एकजना महिला आत्मघाती आक्रमणकारीले गराएको बम बिस्फोटमा राजीव गान्धीको ज्यान गएको थियो ।

गान्धीले सन् १९८७ मा आफू प्रधानमन्त्री रहँदा श्रीलंकामा भारतीय शान्ति सेना पठाएको बदलास्वरूप उनीमाथि यसरी बम आक्रमण गरिएको अनुमान लगाइएको थियो । पेरारिभलन श्रीलंकामा छुट्टै तमिल राज्यको माग गर्दै हिंसात्मक आन्दोलन गरिरहेका लडाकु समूह लिबरेसन अफ तमिल इलम (एलटीटीई) समर्थक थिए । यी लडाकुहरूलाई अन्तत सन् २००९ मा श्रलिंकाली सेनाले परास्त गरेको थियो ।

बुधबार सर्वोच्च अदालतको तीनजना न्यायाधीशको इजलाशले उनले तीस वर्ष भन्दा लामो सजाय भुक्तान गरिसकेको भन्दै भारतीय संविधानको असाधारण शक्ति प्रयोग गर्दै उनको रिहाइको निर्णय गरेको हो । राजीव गान्धी हत्याकाण्डमा सातजनालाई दोषी ठहर गरिएको थियो । तमिलनाडु राज्य सरकारले वर्षौंदेखि सो हत्याकाण्डमा दोषी ठहराइएकाहरूको रिहाइको माग गर्दै आएको थियो । यस घटनामा मृतयुदण्ड सुनाइएका एकमात्र महिला नलिनीलाई पनि राज्य सरकारले सन् २००० मा मृत्युदण्डबाट मुक्ति दिएको थियो ।

प्रतिक्रिया