बागलुङको बडिगाड अध्यक्षमा महिला

गलकोट । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको गण्डकी थापा विजयी भएकी छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एक मात्रै महिला पालिका प्रमुखमा निर्वाचित भएकी हुन् ।
थापाले ७ हजार २ सय ७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजनकुमार पाइजाले ५ हजार ७ सय मत प्राप्त गरे । पराजित राजनकुमार गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका छोरा हुन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा पनि थापा पाइजाको प्रतिस्पर्धी थिए । ५ सय ९२ मतले मेहरसिंह पाइजासँग पराजय भएको थापा अहिले उनकै छोरालाई पराजित गर्दै विजयी भएका हुन् । गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भएका छन् । वनले ७ हजार १ सय ३ मत प्राप्त गर्दा एमालेका मीनाकुमारी रायमाझीले ५ हजार ७ सय २७ मत प्राप्त गरेका छन् । १० वडा रहेको बडिगाडमा एमालेले तीन, कांग्रेसले तीन, नेकपा (माओवादी केन्द्र)ले दुई र राष्ट्रिय जनमोर्चाले एक स्थानमा विजय प्राप्त गरेका छन् ।

वडा–१ मा राष्ट्रिय जनमोर्चाका बोमबहादुर थापा ६ सय ८३ मत, २ मा एमालेका ढालप्रसाद शेरचन ६ सय ८० मत, ३ मा एमालेका खड्कबहादुर पुन ६ सय ८९ र वडा–४ मा माओवादी केन्द्र)का मिलन रेश्मी ९ सय ७२ मतले विजयी भएका छन् ।

यस्तै वडा–५ मा एमालेका विष्णुप्रसाद आचार्यले, ६ मा कांग्रेसका वीरबहादुर केसी ५ सय ३२ मत, ७ मा कांग्रेसका दीपेन्द्र केसी ७ सय ६९ मत, ८ मा एमालेका यामबहादुर श्रीष थापा ६ सय ८९ मत, ९ मा नेपाली कांग्रेसका कृष्णबहादुर केसी ६ सय ६५ र वडा–१० मा माओवादीका वीरेन्द्रकुमार बुढा मगर ७ सय ७४ मतले विजयी भएका छन् ।

प्रतिक्रिया