निर्वाचनका भएका फोहर सफा गर्दै ढुंगना

झापा । स्थानीय तहको चुनाव मतगणनाको चरणमा छ । सबैको ध्यान यतिबेला कसले जित्ने र कसले कति मत ल्याउने भन्नेमा छ । परिणाम कुरिरहेका सर्वसाधारणले प्रयोग गरेका पानीका बोतल, गुट्खाका खोल र सिलबन्दी खानेकुराका खोलले मतगणनास्थल भरिभराउ छन् । आफ्नै कार्यकर्ताले गरेको त्यो फोहर सफा गर्नेतर्फ दलहरुको ध्यान पुगेको छैन । तर, अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय गणेश ढुंगना निर्वाचनको क्रममा भएका ती फोहर सफा गर्न एक्लै कस्सिएर लागेका छन् । उनी एउटा सिटी सफारी हाकेर झापाका विभिन्न मतगणनास्थल पुग्छन् र परिसरमा छरपस्ट प्लास्टिकका बोतल संकलन गर्छन् ।

मंगलबार बिहानै सिटी सफारी लिएर उनी कनकाई नगरपालिका भवन पुगे । गाडी लिएर मतगणनास्थल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीेले उनलाई रोके । उनले भित्र रहेको प्यास्टिकजन्य फोहर सफा गर्ने आफ्नो उद्देश्य रहेको सुरक्षाकर्मीलाई बताए । त्यसपछि उनलाई प्रवेश अनुमति दिइयो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनले मतगणनास्थल रहेको नगरपालिका परिसर र भित्री कोठामा घुमिघुमी पानीका खाली बोतल र फुटेका सिसा बटुले । कसै–कसैले सोध्दा उनले आफ्नो अभियान रहेको सुनाए । नसोधेसम्म उनले फोहर सफा गर्ने काम एकधुनका साथ लागि रहे । ‘कनकाईबाट आज एक गाडी फोहर संकलन गरेर ल्याएको छु’ उनले भने, ‘समाजलाई सफा र स्वच्छ बनाउने मेरो अभियान हो, चुनावका बेला होस् या अरु बेला ।’

उनले कनकाईमा संकलन गरेको प्लास्टिक र सिसाका बोतल १४ किलोमिटर पूर्व आफ्नो घर नजिक चौरमा थुपारेका छन् । सबैतिर संकलन गरेको सामान त्यहाँ जम्मा गरेर बिक्री गर्ने र बेचेर आउने नगदले असहाय तथा दृष्टिविहीनका लागि आवास भवन बनाउन सहयोग गर्ने सोच रहेको उनले जानकारी दिए ।
वैशाख ३० गते चुनावका दिन पनि उनी सिटी सफारी लिएर मतदान केन्द्रमा फोहोर उठाउन गएका थिए । अर्जुनधारा नगरपालिका–११ स्थित महारानीगञ्ज मावि र वडा नं ६ को लक्ष्मी मावि मतदान केन्द्रबाट चार गाडी पानीका खाली बोतल संकलन गरेको उनले बताए । पूर्व माओवादी लडाकु ढुंगना दश वर्षे सशस्त्रद्वन्द्व सकिएर मुलुक शान्ति प्रक्रियामा गएपछि राजनीतिक जीवन त्यागेर विशुद्ध सामाजिक सेवामा लागे । उनले सहयोग जुटाएर गाउँमा मठमन्दिर बनाउने र विपन्नलाई सहयोग पु¥याउने अभियान सञ्चालन गरेका छन् ।

‘कसै कसैले कस्तो बहुला जस्तो रहेछ भनेर हेला गर्छन, तर अधिकांश मानिसले राम्रो काम गर्नुभयो । भन्दै प्रशंसा गरिदिनुहुन्छ,’ प्लास्टिकका बोतल टिप्दै हिँड्दाको अनुभव सुनाउँदै उनले भने, ‘गाउँघरमा आफूले गरेको फोहर आफै सफा गर्नुपर्छ भन्ने सोचको विकास हुनसकेको छैन । सधँैभरी मैले टिपेर सम्भव हुँदैन । मैले टाढाबाट गएर फोहर टिपेको देखेर चेतना फैलियोस् भन्ने मेरो चाहना छ ।’

निर्वाचनका बेला भएको फोहर खासमा राजनीतिक दलका कार्यकर्ता आफैले सफा गर्नुपर्ने हो । पानीका खाली बोतल, कुरकुरे र गुट्खाका खोलले निर्वाचनका लागि प्रयोग भएका स्थल भरिएका छन् । दलका कार्यकर्ताले सरसफाइमा ध्यान दिएका छैनन् । ढंगनाको फोहर संकलन कार्यमा सुरक्षामा खटिएका प्रहरी र म्यादी प्रहरीले पनि प्रोत्साहित गर्दै आएका छन् ।
‘तपाईले राम्रो काम गरिरहनु भएको छ भन्दै म्यादी प्रहरीले प्लास्टिकका बोतल र पोका गाडीमा लोड गर्न सघाउनुहुन्छ,’ उनले भने, ‘दलका कार्यकर्ता भने रमिता हेरिरहेका हुन्छन् ।’ सामाजिक अभियन्ता ढुंगनाले कोभिड– १९ को महामारीका बेला विपन्न र असहायका लागि उपचार र खाद्यान्नको जोहो गरिदिएका थिए । दृष्टिविहीन र शारीरिक अशक्तहरुका लागि त्यसबेला उनले अभियान नै सञ्चालन गरेर एक सय बोरा चामल, एक सय पोका दाल, एक सय लिटर खानेतेल सहयोग जुटाएका थिए ।

प्रतिक्रिया