श्रीलंकामा तेल एकदिनलाई मात्र, कर्मचारी तलब छैन

कोलम्बो । पछिल्लो ७० वर्षयताकै सर्वाधिक खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा, त्यहाँका नयाँ प्रधानमन्त्रीले देश पेट्रोलियम पदार्थ खपत गर्ने अवस्थाको अन्तिम दिनमा पुगेको बताएका छन् । एक टेलिभिजन सम्बोधनमार्फत रनिल विक्रमसिंघले, अत्यावश्यक सामग्रीहरूको आयातको लागि देशलाई तत्कालै ७ करोड ५० लाख डलर विदेशी मुद्रा आवश्यक रहेको जानकारी दिए ।

उनले सरकारी तलब तथा ज्याला भुक्तानी गर्नका निम्ति देशको केन्द्रीय बैकले पैसा छाप्नुपर्ने बताए । विक्रमसिङ्घले सरकारी स्वामित्वमा रहेको श्रीलंका एयरलाइन्सलाई पनि निजीकरण गर्न सकिने बताए । यस टापु राष्ट्रको अर्थतन्त्र महामारी, इन्धनको बढ्दो मूल्य र देखावटी लोकप्रियताका लागि सरकारले गरेको कर कटौतीका कारण नराम्रोसँग प्रभावित भएको छ । विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मूल्यवृद्धिले औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।

राजधानी कोलम्बोमा सहरको सबैभन्दा बढी प्रयोग गरिने सवारी माध्यम अटो रिक्सा र अन्य सवारी साधनहरू पेट्रोल पम्पहरू बाहिर लामबद्ध छन् । ‘अहिले हामीसँग एक दिनको लागि मात्र पुग्ने पेट्रोल छ । अबको दुई महिना हाम्रो जीवनको सबैभन्दा कष्टकर समय हुनेछ,’ बिहीबार मात्र प्रधानमन्त्री नियुक्त भएका विक्रमसिंघले भनेका छन् । यद्यपि, भारतले उपलब्ध गराएको ऋण सुबिधाबाट केही दिनमा नै पेट्रोल र डिजेल ढुवानी गरेर ल्याउनसकिने उनले बताएका छन् । विक्रमसिङ्घका अनुसार राज्यको अन्य खर्चको रकम भुक्तानी गर्न देशको केन्द्रीय बैंकले पैसा छाप्नु पर्ने हुन्छ ।

‘मेरो आफ्नै इच्छाहरू विपरीत, राज्यका कर्मचारीलाई तलब उपलब्ध गराउन र अत्यावश्यक वस्तु तथा सेवाको भुक्तानी गर्न पैसा छाप्ने अनुमति दिन बाध्य छु । तर पैसा छाप्दा रुपैयाँको अवमूल्यन हुने जाने कुरा पनि हामीले सम्झनु पर्छ,’ उनले भने ।
पछिल्ला साताहरूमा त्यहाँका राष्ट्रपति गोटाबय राजपक्ष र उनको परिवार विरुद्ध ठूला र हिंसात्मक प्रदर्शनहरू भइरहेका छन् । गत साता सरकार समर्थक र प्रदर्शनकारीबीच द्वन्द्व चर्किएपछि राष्ट्रपतिका दाइ महिन्द राजपक्षले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा नौ जनाको मृत्यु भएको थियो भने ३०० जनाभन्दा बढी घाइते भएका थिए । शुक्रवार विक्रमसिङ्घले बीबीसीसँग बोल्दै श्रीलङ्काको ‘अर्थतन्त्र राम्रो हुनुअघि अझै नराम्रो हुने’ चेतावनी दिएका थिए । पदभार ग्रहण गरेपछिको पहिलो अन्तर्वार्तामा उनले हरेक परिवारलाई दैनिक तीन पटक खाना खुवाउने प्रतिबद्धता जनाएका थिए । थप आर्थिक सहयोगको लागि विश्व समक्ष अपिल गर्दै उनले भने, ‘भोकको संकट हुने छैन, हामी खाना जुटाउने छौँ ।’

प्रतिक्रिया