बुद्ध एयरको रात्रीकालीन उडान

काठमाडौ । बुद्ध एयरले आगामी जेठ १ देखि विभिन्न गन्तव्यमा रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ । तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा सेवा दिने सो एयरले जनाएको छ । यस्ता उडान राती ८ बजेदेखि हुनेछन । दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरको भनाई छ । बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो पनि हुने कम्पनीको भनाई छ । कम्पनीले रात्रिकालीन उडान हुने गन्तव्यमा सार्वजनिक यातायातको सुविधाका लागि प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरेको छ ।

यात्रुहरूको आवतजावतले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुद्ध एयरको छ । कम्पनीले काठमाडौंमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले बताएका छन ।
बुद्धले पोखरा विमानस्थललाई सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । अब भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रूपमा सबै प्रदेशबाट जोड्ने तयारीमा छ । भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको छ ।

निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना रहेको कम्पनीको भनाई छ । उडानसँगै पर्यटकहरूका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत होलिडे प्याकेजहरू पनि सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया