नेप्सेमा निर्वाचनको प्रभाव : नाफा बुकले सेयर बजारमा दवाब

काठमाडौं । नेपाल बैंकर्स संघले जेठमा ब्याजदर नबढाउने निर्णय गरेसंगै बुधबार बढेको सेयर बजारमा ठुला लगानीकर्ताले नाफा बुक गर्न बिक्री चाप बढाएको कारण बिहीबार नेप्से घटेको छ । चुनावका लागि बजारमा आएको पैसा विस्तारै वित्तीय प्रणालीमा भित्रिने आकलन संगै बजारमा बढने क्रम देखिएको छ । यस्ले तरलताको समस्या पनि केही मात्रामा समाधन हुनेमा लगानीकर्ता आशावादी देखिएका छन् ।

घटेको सेयर बजारलाई लगानीको अवसरका रुपमा पनि लिने गरिन्छ भने बढेका बजारलाई नाफा आर्जन गर्ने बजारको रुपमा लिने गरिएको छ । सातामा लगातार ४ दिन बढेको सेयर बजार पाँचौ दिन अर्थात् बिहीबार अन्तिम समयमा दोहोरो अंकले घटेको हो । चुनाव भन्दा अघिल्लो दिन सेयर कारोबारमा क्रेता र बिक्रेता माझ निर्णायक मतभेद देखिएको हो । कारोबार अवधिभर उतार चढावको शृंखला निरन्तर चलेको थियो । यद्यपि अन्तिम प्रहरमा बिक्रेता बजारमा हावी हुँदा परिसूचक घटेको हो ।

साताको अन्तिम कारोबारपछि परिसूचक पुनः २३५०.४२ को विन्दुमा ओर्लिएको छ । साताको सुरुवातदेखि बजार खरिदकर्ताले नियन्त्रण गर्दै आएका थिए । तर अन्तिम कारोबारमा बिक्रेता निर्णायक बनेको कारोबारले देखाएको छ । अन्तिम प्रहरमा बिक्रि चाप थप बढ्न गएको कारण परिसुचक घटेको हो ।

विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीहरुलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएसँगै सेयर बजारमा सुधार आएको थियो । बुधबार २ हजार ३ सय ६९ मा रोकिएको नेप्से बिहीबार २ हजार ३ सय ८९ अंकसम्म चढेर २ हजार ३ सय ४३ रुपैया सम्म झरे पनि बुधबारको तुलनामा बिहीबार नेप्से १८ दशमलव ६४ अंकले घटेर २ हजार ३ सय ५० दशमलव ४२ बिन्दुमा कायम रहेको छ ।
बिहीबार बजार घटाउन ऋणपत्र र सामूहिक लगानी कोषबाहेक १ सय ५१ कम्पनीको भुमिका रहेको थियो । घटेको बजारमा पनि ३४ कम्पनीको मूल्य बढेको छ ।

साताका सुरुवाती ३ दिन १ अर्बकै वरिपरि कारोबार रहेकामा बिहीबार भने २ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार पनि २ अर्ब १३ करोडको सेयर किनबेच भएको थियो ।

जेठ ३ मात्रै सेयर बजार खुल्ने

सेयर बजार ४ दिनको लागि बन्द भएको छ । आइतबार र सोमबार बिदा परेका कारण नेप्से ४ दिन बन्द हुने भएको हो । सेयर बजार अब आगामी जेष्ठ ३ मा मात्रै खुला हुने छ । सरकारले जेठ महिनादेखि शनिबार र आइतबार हप्ताको दुई दिन बिदा दिने निर्णय पश्चात १ जेठमा पनि बजार बन्द हुने भएको हो ।

त्यस्तै २ गते सोमबार बुद्ध पूर्णिमा परेका कारण सार्वजनिक बिदाले गर्दा बजार बन्द रहनेछ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि धितोपत्र बजार त्यसको सट्टामा शुक्रबार समेत खुला गरेर साताको ५ दिनै कारोबार गर्न धितोपत्र बोर्डले अनुमति दिइसकेको छ ।

प्रतिक्रिया