ड्रेसिङ रुममा पादेर हाँसेपछि . . .

पेरिस । अनुशासन हरेक व्यक्तिको गहना हो । अझ खेलमा अनुशासन भएन भने खेलाडीले सफलता हासिल गर्न सक्दैन । कुनैपनि टोलीमा अनुशासित खेलाडी छैनन् भने उक्त टोलीलाई राम्रो नतिजा ल्याउन कठिन पर्छ । फ्रान्सको शीर्ष डिभिजन क्लब लियोनमा अनुभवी खेलाडीले आश्चर्यजनक घटनामा अनुशासन तोड्दा उनलाई क्लबबाट नै निकाल्नु पर्ने अवस्था आएको छ ।

लियोनका ब्राजिलियन डिफेन्डर मार्सेलोले ड्रेसिङ रुमभित्र पाद्ने र ठूलो आवाजमा हाँसेपछि टोलीबाट नै निकालिएको छ । कोठाभित्र रहेका खेलाडी सहकर्मी र प्रशिक्षक टोलीले पनि असन्तुष्टि जनाएपछि उनलाई निकालिएको खुलासा भएको छ । फ्रान्सेली पत्रिका ले इकिपले यस घटनाबारे तथ्य सार्वजनिक गरेको हो ।

जनवरीमा भएको यस घटना लगत्तै लियोनले विज्ञप्ति जारी गर्दै मार्सेलोलाई टिमबाट निकालेको जनाएको थियो । त्यसबेला क्लबले घटनाको विवरण भने बाहिर ल्याएको थिएन । क्लबले त्यसबेला अभद्र व्यवहारको कारण उनलाई व्यवस्थापनले टोलीबाट निकालेको जनाएको थियो ।

क्लबले एन्जर्सविरुद्ध खेलपछि उनलाई कारवाही गरेको जनाएको थियो । उक्त खेलमा उनले आत्मघाती गोल गर्दा टोली ३–० ले पराजित भएको थियो । त्यसपछि टोलीबाट बाहिर रहेका उनलाई क्लबले केहि महिनापछि फुकुवा नै गरेको थियो ।
लियोनले जनवरीमा फुकुवा गरेपछि उनी हाल फ्रान्सकै बोर्डोमा अनुबन्धित भएका छन् । उनको नयाँ ल्लब भने रेलिगेसनबाट बच्न संघर्षरत छ ।

प्रतिक्रिया