चितवनमा तीन हजार ६ सय ८ कर्मचारी खटिँदै

चितवन । स्थानीय तह निर्वाचनका लागि चितवनमा ३ हजार ६ सय ८ कर्मचारी मंगलबारदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १ सय ६१ मतदानस्थलमा रहेका ४ सय ५१ मतदान केन्द्रमा ती कर्मचारी खटिन लागेका हुन् ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी मंगलबारदेखि मतदान केन्द्रमा खटाइएको हो ।

निर्वाचनका लागि आएको मतपत्र, मतपेटिका सहितको ६१ प्रकारका सामग्री मतदान अधिकृत र सहायक अधिकृतलाई बुझाइएको कार्कीको भनाइ छ । मतदाता संख्याको आधारमा कर्मचारीको संख्या बाँडफाँट गरिएको छ । प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयंसेवक खटिनेछन् । त्यस्तै मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी पाँच जना खटिनेछन् ।

निर्वाचनमा जिल्लामा म्यादी प्रहरीको संख्या १ हजार ६ सय ५१ जना रहेको छ । जिल्लाको सुरक्षा हेरेर सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार सात पालिका रहेको जिल्लामा मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउन स्थलगत अध्ययन तथा अनुगमन भइरहेको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ । एकीकृत सुरक्षा योजना समितिले सुरक्षाका हिसाबले जिल्लामा २५ वटा अतिसंवेदनशील, ९२ वटा संवेदनशील र ४४ वटा मतदानस्थल समान्य गरी वर्गीकरण गरेको छ ।

जिल्लाभर ३ लाख ९७ हजार ६ सय ८५ मतदाता रहेका छन् । जसमध्ये २ लाख ४ हजार ६ सय ६६ जना महिला, १ लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिंगी रहेका छन् । कूल मतदातामध्ये भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार ७ सय ५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६ सय ४२, खैरहनीमा ४३ हजार ५ सय ३१, कालिकामा ३१ हजार १ सय ५७, राप्तीमा ४० हजार ६ सय ४९, माडीमा २८ हजार ३ सय २० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६ सय ३४ मतदाता रहेका छन् ।

प्रतिक्रिया