काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयरका उम्मेदवार राजकुमार नकर्मीले आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई नेपालकै नमुना पर्यटकीय नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नकर्मीले सोमबार पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा कीर्तिपुरवासीका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
उनले नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा १२ कक्षासम्म अत्यन्त न्यून शुल्कमा शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नकर्मीले भने, ‘म उम्मेदवार बन्दै गर्दा कीर्तिपुर नगरपालिकाका सबै वडामा स्वास्थ्य, खानेपानीका लागि एक घर एक धाराको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
देशका विभिन्न स्थानीय तहमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत राजनीतिक दलहरूबीच गठबन्धन भए पनि कीर्तिपुरमा कांग्रेस र जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवार तथा अन्य पार्टीले भने एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।
कांग्रेस र जसपा संयुक्त प्यानलका उपप्रमुखका उम्मेदवार शुभलक्ष्मी शाक्यले नगरपालिकाभित्र सञ्चालित कीर्तिपुर अस्पताल र विष्णुदेवी अस्पतालको स्तरोन्नति तथा त्रिभुवन विश्वविद्यालय हाताभित्र सञ्चालित आयुर्वेद अस्पतालमा विशेष छुटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतिबद्धता पत्रमा भनिएको छ, ‘प्रत्येक वडामा सम्भव भएसम्म खेल मैदान वा कभर्ड हलको निर्माणमा विशेष पहल गर्नुका साथै नगरक्षेत्रमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान गरी उनीहरूको प्रोत्साहनका लागि उच्च सम्मान गर्ने व्यवस्था मिलाइनेछ ।’
प्रतिक्रिया