रोजगारदेखि नुन व्यवस्थापनसम्म चुनावी एजेन्डा

स्थानीय तह निर्वाचन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ का रामदत्त भट्ट पेसाले मिठाइ बनाउने कारिगर हुन् । उनी होटेलमा विभिन्न प्रकारका मिठाइ बनाउने कार्य गर्छन् । यस कार्यबाटै भट्ट परिवारको खर्च चल्ने गरेको छ । हाल उनको दिनचर्या फेरिएको छ । बिहानीपख होटलमा काम गर्छन् । दिउँसो र साँझ स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काममा व्यस्त छन् ।

‘श्रम गरी जीविका चलाउने व्यक्तिको जीवतस्तर जस्तो पहिला थियो । अहिले पनि त्यस्तै छ । यसमा कुनै परिवर्तन आउनसकेको छैन’, उनले भने, ‘श्रम गर्ने व्यक्तिको जीवनस्तरमाथि उठाउने एजेन्डासहित वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएर निर्वाचनको प्रचारप्रसारका हिँडेको छु ।’

गाउँका अधिकांश बासिन्दा श्रम गरेर जीविका चलाउने भएकाले सबैको भोट पाउनेमा विश्वस्त भएको उनी बताउँछन् । उनको चुनावी प्रचारको मुख्य नारा ‘पार्टीले जिते कार्यकर्ताको विकास, स्वतन्त्रले जिते गाउँको विकास’ रहेको छ । वडामा ठूलो समस्याका रुपमा सनबोरा नदीले गर्ने भू–क्षयको रहेको छ । चुनाव जितेमा पहिलो कार्य नै तटबन्ध निर्माण गर्ने रहेको उनी जोड दिँदै भन्छन् ।
भट्टसँगै वडामा नेकपा(एमाले)बाट वडाध्यक्षका उम्मेदवारका रूपमा ज्ञानबहादुर विष्ट, संयुक्त गठबन्धनका तर्फबाट नेकपा (समाजवादी) का मिठ्ठु राना र नेपाली कांग्रेसका तर्फबाट कमल ठकुल्लाले उम्मेदवारी दिएका छन् । राजनीतिक दलका वडाका उम्मेदवारले शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदसँग सम्बन्धित एजेन्डा अघि सारेका छन् ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट नगरको ११ वडाको अध्यक्षका उम्मेदवार जनक कँुवर ठेला चालक छन् । झलारी बजारमा ठेला चलाएर उनले घरको गर्जो टार्ने कार्य गर्दै आएका छन् । उनी दैनिक ठेला रिक्सामा सिमेन्ट, छड लगायतका निर्माण सामग्री बोक्ने कार्य गर्छन् । त्यसबाट पाइने ज्यालाले घरखर्च चलाउँदै आएका छन् ।
‘श्रम गर्ने व्यक्तिले स्वाभिमानसँग बस्न र खान सक्ने वातावरण कायम हुनुपर्छ’, उनले भने, ‘यिनै कुरा र जनजीविका सवाललाई जनतासामु राखेर भोट माग्नका लागि घरदैलोमा जान थालेको छु ।’ मतदाताले श्रम गर्ने व्यक्तिका रूपमा बुझेकाले मतदान गरी विजयी बनाउने उनको भनाइ छ । उनीसँगै वडामा नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर साउद, नेकपा (एमाले)का तर्फबाट भक्तराज जोशी र संयुक्त गठबन्धनका तर्फबाट दिलबहादुर बुढा उम्मेदवार छन् ।

नगरप्रमुखमा प्रमुख दलका उम्मेदवारसमेत नौला एजेन्डासहित भोट माग्न घर दैलो गर्नमा व्यस्त देखिन्छन् । नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखको उम्मेदवार चिन्तामणि भट्टले नगरभित्रका ३२ वटै सामुदायिक विद्यालयमा नर्सको व्यवस्था, नागरिक आरोग्य केन्द्र स्थापना र गाउँनगर फार्मेसी स्थापना गर्ने लगायतका एजेन्डा अघि सारेका छन् ।

एमालेका नगरप्रमुखको उम्मेदवार रणबहादुर महराले अति विपन्न तथा गरिब परिवारलाई निःशुल्क नुन वितरण गर्ने एजेन्डालाई प्राथमिकता दिएका छन् । यससँगै उनले अघि सारेका एजेन्डामा एक वडा एक ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना, बाल उद्यान, खेलमैदान, नगर बस पार्क, शीत भण्डार स्थापना गर्नेलगायतका विषयलाई चुनावी प्रचारमा समेटेका छन् ।

गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार नवराज ऐरले वृद्ध असक्त, जनयुद्ध र जनआन्दोलनका घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्ने, आयुर्वेद, योग र प्राकृतिक चिकित्सा प्रणालीलाई बढावा दिने, स्वास्थ्य पूर्वाधारको विकास गर्ने लगायतका एजेन्डा सार्वजनिक गरेका छन् । कृषि उत्पादनलाई बढावा दिन उन्नत बिउवीजन, उन्नत पशुपालनका लागि योजनाबद्ध रूपमा कार्य अगाडि बढाउने, वैज्ञानिक भूमि व्यवस्थापन र भू–उपयोगको नीति तर्जुमा, सूचना र सञ्चारलाई नागरिकको पहुँचमा पु¥याउन आवश्यकताअनुसार टेलिभिजन, एफएम तथा पत्रपत्रिका, अनलाइन सञ्चालकलाई प्रोत्साहन गर्ने उनको प्रतिबद्धता रहेको छ ।
राप्रपाका तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बनेका जीतसिंह भण्डारीले भने चुनावी मुद्दाका रूपमा हिन्दुत्व र राष्ट्रियतालाई जोडतोडका साथ उठाएका छन् । चुनावी मैदानमा रहेका अधिकांश उम्मेदवारले सडक, सञ्चार, शिक्षा, खेलकुद, कृषि, स्वास्थ्य, यातायात र रोजगारीलाई प्राथमिकतामा राखेर चुनावी मुद्दा बनाई प्रचारप्रसारमा जुटेका छन् ।

‘धेरै उम्मेदवारका पुरानै चुनावी मुद्दा रहेका छन्’, राजनीतिक विश्लेषक शेरबहादुर भण्डारीले भने, ‘नगरप्रमुखका युवा उम्मेदवारले सारेका मुद्दा मात्रै नौला रहेका छन् । ती मुद्दा अहिले जनतामाझ निकै लोकप्रिय बनेका छन् । युवाहरूले सबैभन्दा बढी रुचाएका पनि छन् ।’ नगरमा १२ वटा मतदानस्थल रहेका छन् । नगरपालिकामा जम्मा ३१ हजार ४ सय ४८ मतदाता रहेका छन् ।
नगरपालिकामा आदिवासी जनजाती डगौरा, चौधरी, राना थारू, दलित, ब्राम्हण, क्षेत्रीलगायतको बसोबास रहेको छ । थारू र पहाडी समीकरण जोडन सक्ने नै निर्वाचनमा विजय हुने भण्डारीको तर्क छ । क्षेत्रीयताको नारा निकै जोडतोडले उठेकाले सबै समीकरण मिलाउन सक्ने उम्मेदवार विजयी हुने उनी बताउँछन् ।

प्रतिक्रिया