बाजुराकाे पाण्डुसैन तनावग्रस्त : प्रहरी कार्यालयमा समेत आक्रमण

बाजुरा । बाजुराको दुर्गम बुढिनन्दा नगरपालिका-९ पाण्डुसैनको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा लिन सकेको छैन् । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका थिए । कांग्रेस कार्यकर्ताको कुटाइपछि नेकपा एसका कार्यकर्ता गुहार माग्दै पाण्डुसेन प्रहरी कार्यालय पुगे । अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा त्यसबेला ३४ जना म्यादी र ६ जना प्रहरी मात्रै थिए ।

कम जनशक्ति भएको अवस्थामा सयौँको संख्यामा आएका कांग्रेस कार्यकर्ताले प्रहरी कार्यालयमा समेत आक्रमण गरेको बताइएको छ । आक्रमणबाट १० प्रहरी घाइते भएका छन् भने कार्यालयमा समेत क्षति भएको छ । यस्तै, नेपाली कांग्रेस र एकीकृत समाजवादीका गरी कम्तिमा ५ जना घाइते भएका छन् । नेकपा समाजवादीका जिल्ला सचिव पुरबहादुर रावत पनि घाइते भएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको टोली घटनास्थलतिर गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए । थप सुरक्षा सहित प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेललगायत सुरक्षा निकायका प्रमुखहरु घटना स्थलतिर गएका हुन् ।

प्रतिक्रिया