गर्मी छल्न तिंकर उक्लदै खलंगावासी

दार्चुला । व्याँस गाउँपालिका–१ खलंगाका स्थानीय आफ्ना पशुचौपायासहित गाउँ पुग्न थालेका छन् । ६ महिना गर्मी छल्न तथा गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरू तिंकर गाउँ पुगेका हुन् । व्यासी सौका समुदाय सदरमुकाम खलंगाको गर्मी छल्न गाउँ पसेका हुन् । गत मंसिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिंकरीको ताला ६ महिनापछि खुल्न थालेको हो । ‘पाँच परिवार तिंकर पुगिसकेका छन्’, स्थानीय दानसिंह तिंकरीले भने, ‘३५ परिवार खलंगाबाट मंगलबार हिँडेका छन् उनीहरू बाटोमा छन् ।’ सदरमुकाम खलंगाबाट पाँचदेखि ६ दिनमा तिंकर गाउँ पुगिन्छ ।

भारतीय प्रशासनको अनुमति लिएर स्थानीय हिमाली गाउँतर्फ उक्लिएका हुन् । खलंगाबाट हिँडेर पहिलो दिनमा दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुदि, पाँचौँ दिन छाङ्गरु र छैटो दिन तिंकर पुगिन्छ । पशुचौपायासहित कुञ्चा सर्दा ६ दिन लाग्छ । तर, हाल स्थानीय भने पाँच÷६ घण्टामै गाडीमा गाउँ पुग्ने गर्छन् ।

भारतीय प्रशासनले अनुमति दिन ढिलाई गर्दा यो पटक बसाइँसराइ केही ढिला भएको स्थानीय बताउँछन् । गाउँ फर्किएपछि तरकारी बाली भित्र्याउने काम हुन्छ । साथै जेठमा यार्सागुम्बा संकलनको कामसमेत हुने भएपछि उनीहरू गाउँ फर्किएका हुन् । तिंकर गाउँ चीनको सीमा नजिकैको गाउँ हो । तिंकर गाउँभन्दा आधा घण्टामाथि नेपाल प्रहरी बस्छ । छायालेकबाट चारदेखि पाँच घण्टाको दुरीमा नेपाल–चीन १ नम्बर सीमा स्तम्भ छ ।

स्थानीय ६ महिना सदरमुकाम खलंगा र ६ महिना छाङ्गरु तिंकर बस्छन् तर, तिंकरको छायालेकमा बस्दै आएको नेपाल प्रहरी भने अझै सदरमुकाम खलंगामै छ । यसअघि यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा ६ महिना मात्रै छायालेक बस्ने गर्दै आएको थियो । प्रहरी टोली तिंकरतर्फ जाने तयारीमा रहेको जनाइएको छ ।

निर्वाचनको समय आउन पनि आठ दिन बाँकी छ । निर्वाचनको लागि मतदान केन्द्र पनि तिंकरमै तोकिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट हेलिकोप्टरमार्फत प्रहरी तिंकर पठाउने तयारी भएको बताउँछन् । ‘हामीले प्रक्रिया बढाइसकेका छौँ’ं उनले भने, ‘तर हेलिकोप्टर कहिले आउँछ भन्ने एकिन भएको छैन ।’

प्रहरीको ६ महिनाको रासन, हातहतियार पनि लिनुपर्ने भएको हुँदा हेलिकोप्टर माग गरिएको डिएसपी विष्टले बताए । विगतमा पनि हेलिकोप्टरमार्फत पठाउने गरिएको थियो । विष्टका अनुसार प्रहरीलाई वैशाख २७ गते अगावै पठाउने गरी पहल भइरहेको छ । छाङ्गरुमा भने गत वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी वर्षभरी बस्दै आएको छ । साथै, सशस्त्र प्रहरी टोली पनि छाङ्गरुमै छ । गत वर्ष सशस्त्र प्रहरीको छायालेकमा बोर्डर आउट पोस्ट (बिओपी) भवन निर्माण गरिएको थियो ।

प्रतिक्रिया