कञ्चनपुरमा आचारसंहिता विपरीत प्रचार सामग्री

कञ्चनपुर । स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताको जिल्लामा पूर्णरूपमा पालना हुन सकेको छैन । राजनीतिक दलहरूले आचारसंहिताविपरीत प्रचार सामग्री ठाउँठाउँमा टाँस गरेका छन् । सार्वजनिक स्थान, सार्वजनिक सवारीसाधान, निजी आवासमा उम्मेदवारको निर्वाचन चिह्नअंकित प्रचार सामग्री टाँस गरिएका छन् । अटोरिक्सा, निजी सवारीसाधन, ढुवानीका साधनमा समेत उम्मेदवारको चुनाव चिह्न अंकित झण्डा राखिएका छन् । यहाँका झलारी, दैजी, सुडा, महेन्द्रनगर, गुलरिया, बेलौरी, चवन्नी, आइबिआरडी लगायतका बजार क्षेत्र र ग्रामीण क्षेत्रका सडकमै चुनावमा सहभागी राजनीतिक दलहरूले उम्मेदवारका प्रचार सामग्री झुण्ड्याएका छन् ।

आचारसंहिता पालना भए÷नभएकोबारे अनुगमन कार्य प्रभावकारीरूपमा नगरिँदा उल्लंघनका कार्य भइरहेको स्थानीय मतदाताको भनाइ छ । निर्वाचनमा सहभागी उम्मेदवारका समर्थनमा ¥याली लगायतका कार्यसमेत भइरहेका जनाइएको छ । आचारसंहिताअनुसार कसैको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा पोस्ट वा सेयर गर्न पनि पाइने नियम भए पनि सामाजिक सञ्जालका वाल प्रचार सामग्रीले रंगिएका छन् ।
उम्मेदवारले आधिकारिक पेजमा मात्रै प्रचार गर्न पाउने नियम रहेको छ । राजनीतिक दलका कार्यकर्ताहरूले आचारसंहिता विपरीत सामाजिक सञ्जालमा उम्मेदवारका पक्षका प्रचार सामग्री राखेर प्रचारप्रसारको कामलाई तीव्र बनाएका छन् ।

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आचारसंहितामा व्यवस्था गरिएको छ । निर्वाचनमा आचारसंहिता विपरीतका निर्वाचन चिह्न अंकित टोपी, लोगो सहितका ब्याच लगाउने कार्यसँगै बिक्री वितरणको कार्य खुलेआम जारी रहेको छ । झण्डा र पर्चासमेत तोकिएका आकारभन्दा ठूल्ठूला बनाई प्रचारप्रसारमा प्रयोग भइरहेका छन् । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदन धामीले निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री अंकित झोला, ब्याचलगायत जफत गरी उम्मेदवारलाई सचेत गराइएको बताए ।

‘आचारसंहिता पालना गराउने कार्यलाई कडाइका साथ पालना गराउनका लागि निरन्तर अनुगमनको कार्य भइरहेको छ’, उनले भने, ‘अझै यस कार्यमा कडाइ गर्छौं । निर्वाचन (कसुर तथा सजाय) ऐन, ०७३, निर्वाचन आचारसंहिता, ०७८ र निर्वाचनसम्बन्धी अन्य कानुनमा भएका व्यवस्थाअनुसार जारी आचारसंहिता विपरीत कार्य गरिएको पाइए कारबाही हुने उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचनको प्रयोजनार्थ खटिने मतदान अधिकृत र सहायक अधिकृतका लागि एकदिने तालिमको आयोजना गरिन लागेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यही वैशाख २३ र २४ गतेसम्म तालिमको आयोजना गरिन लागेको हो । क्रमसंख्या १ देखि १ सय ७७ सम्मका लागि २३ गते र क्रमसंख्या १ सय ७८ देखि ३ सय ४१ सम्मका लागि वैशाख २४ गते तालिम दिइनेछ । छनोटमा परेका मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिई मतदानस्थल र केन्द्रमा खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा निर्धारित ३ सय ४१ वटै मतदान केन्द्रमा पठाउनका लागि मतपत्र प्याकिङ गर्ने कार्य पूरा भएको छ । जिल्ला मुख्य निर्वाचन अधिकृत धामीका अनुसार मतदान केन्द्रमा ३ लाख २५ हजार मतपत्र पठाइन लागेको हो । मतपत्रसँगै मतपेटिका, निर्वाचनसम्बन्धीका अन्य सामग्रीको व्यवस्थापन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया