गाउँमा चुनावी चहलपहल बढ्यो

म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेसनल मंगोल अर्गनाइजेसनलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । दलका झण्डा र चुनाव चिह्न राखिएको गाडीमा स्पिकर जोडेर चुनावी गीत घन्काउँदै गाउँ टोलमा भोट माग्न आउने उम्मेदवारको लर्को लागेको धवलागिरि गाउँपालिका–७ ताकमका सुनिल भण्डारीले बताए । ‘फरक–फरक दलको वडा र पालिकाका उम्मेदवार घरदैलोमा हिँड्नुभएको छ’, उनले भने, ‘उम्मेदवार र नेताको चहलपहलले चुनावी माहोल बढाएको छ ।’ उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन् । धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन् । दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले साँझ र बिहानको समयमा घरदैलो गरेका छन् । नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन् ।

६ वटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा २ सय ३७ पदका लागि ७ सय १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्षसहित पाँचै जना जनप्रतिनिधि निर्विरोध भएका छन् । सबैजसो टोलमा कुनै न कुनै दलका उम्मेदवार भएकाले चुनावले चहलपहल बढाएको बेनपा–९ का केशव चोखालले बताए । घरदैलोका क्रममा उम्मेदवारले आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन् । उनीहरूले मतदाताका समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिबद्धता जनाएका छन् ।

सडक स्तरोन्नति गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, शिक्षा र स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउने, विकास योजनालाई पारदर्शी तथा जनसहभागितामूलक बनाउने उम्मेदवारको कार्यसूची छ ।
माओवादीबाट मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले गाउँका सडकमा बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार पुर्याउने र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउने मुद्दालाई जोड दिएको बताए ।

मालिका–६ दरवाङका खेमबहादुर पुनले गत चुनावमा जनप्रतिनिधिले खानेपानी ल्याउने वाचा अझै पूरा नगरेका गुनासो गरे । ‘पाँच वर्षअघिकै खानेपानीको मुद्दालाई अहिले पनि दोहो¥एर भोट माग्न आएका छन्’, उनले भने, ‘योजना बनाएर सपना देखाउने मात्र नभएर कार्यान्वयन गर्ने नेतृत्वको आवश्यकता देखिएको छ ।’
यसैगरी अन्नपूर्ण गाउँपालिकामा आसन्न निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले पर्यटन र पूर्वाधार विकासमा प्राथमिकता दिने कार्यसूची बनाएका छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका बलबहादुर तिलिजा पुन, एमालेका भारतकुमार पुन, राप्रपाका तीर्थबहादुर खड्का र नेसनल मंगोल अर्गनाइजेसनका रामबहादुर गर्बुजा उम्मेदवार बनेका छन् । उपाध्यक्षमा एमालेका दिवाकुमारी पुन, कांग्रेसका ललिता तिलिजा पुन र नेसनल मंगोल अर्गनाइजेसनका एलिना पुर्जा शेरपुञ्जा प्रतिस्पर्धामा छन् ।

पर्यटन, जलविद्युत् र कृषि क्षेत्रमा सम्भावना रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले सडक, भवन, खानेपानीलगायत पूर्वाधारका साथै शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार एवं आयआर्जन वृद्धिका योजनालाई प्राथमिकता दिने योजना अघि सारेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाडा, खोपारा, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड लगायत पर्यटकीयस्थल रहेको अन्नपूर्णका उम्मेदवारले नयाँ गन्तव्यको पहिचान गरी पर्यटक भित्र्याउने, बसाई लम्बाउने र आयआर्जन सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

आसन्न निर्वाचनमा अन्नपूर्णमा एमाले र कांग्रेसका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आठ वडा रहेको अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सचिवमा ४२ पदका लागि ९८ जनाको उम्मेदवारी परेको छ । १४ मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपूर्ण गाउँपालिकामा १२ हजार २६ मतदाता छन् । ०७४ सालमा भएको स्थानीय तह चुनावमा कांग्रेसले अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष र चार वटा वडामा विजय हासिल गरेको थियो । एमालेले तीन र माओवादीले एक वडा जितेका थिए ।

प्रतिक्रिया