पोखरा महानगरमा ५ मेयरसहित ११९ जनाले लिए उम्मेदवारी फिर्ता

पोखरा, । पोखरा महानगरपालिकाका ५ जना मयेर र ३ जना उपमेयरका उमेदवारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मयेरमा उमेदवारी फिर्ता लिनेमा तीन जना दलका उमेदवार छन् भने दुई जना स्वतन्त्र उमेदवार छन् ।

नेपाली कांग्रेसका बागी उमेदवारी दिएका नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले उमेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका रोशनी बानियाँ र राप्रपा नेपालका गोविन्द गुरुङले पनि उमेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी उपमेयरमा मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ, राप्रपा नेपालका चिना दवाडी र नेकपा माओवादी समाजाबादीका इन्द्र सुनारले उमेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । मंगोल नेशनल अर्गनाइजेसन र नेकपा माओवादी समाजवादीका उम्मेद्वारहरु भने दुवै पदमा पुरुष भएका कारण फिर्ता लिएका हुन् ।

पोखरा महानगरका वडाध्यक्षमा उम्मेदवारी दिएका ३० जनाले फिर्ता लिएका छन् । त्यसमध्ये २१ जना पार्टीबाट वडा अध्यक्षमा उमेवारी दिने छन् भने ९ जना स्वतन्त्र छन् । त्यसैगरी वडा सदस्यमा ८१ जना वडा सदस्यहरुले नाम फिर्ता लिएका छन् ।

कतिपय उम्मेदवार आफैले उमेदवारी फिर्ता लिएका छन् भने केहीलाई पार्टीले फिर्ता गराएको छ । पोखरा महानगरपालिकाको मयेर पदका लागि २३ जनाले प्रतिस्पर्धा गर्नेछन् भने उपमेयरका लागि ८ जनाले प्रतिस्पर्धा गर्नेछन् । अधिकांश उम्मेदवारको उम्मेदवारी पार्टीले फिर्ता लिएको बताईएको छ ।

प्रतिक्रिया