युएईको जेलमा रहेका पत्रकार पाण्डेलाई माफी

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिएका छन् ।

सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार युएईका राजकुमारले गत शुक्रबार पाण्डेको सजाय माफ गरिदिएका थिए ।

युएइको अदालतले पत्रकार पाण्डेलाई तीन महिना जेल, २० हजार दिराम जरिवाना, नेपाल डिपोर्ट लगायतको सजाय सुनाएको थियो । सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै अबुधावीस्थित नेपाली दूतावासका पदाधिकारीको उजुरीमा उनलाई उक्त सजाय सुनाइएको थियो ।

पत्रकार पाण्डेलाई जेल सजाय सुनाइएपछि नेपालमा त्यसको विरोध भएको थियो । त्यसपछि युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा रहेका प्राज्ञिक व्यक्तिलाई उनको सजाय माफीका लागि गत बुधबार भेटेर अनुरोध गरेका थिए ।

ती प्राज्ञिक व्यक्तिहरुले युएईका राजकुमारसमक्ष कुरा पुर्याएका थिए । त्यसपछि राजकुमारले सजाय माफी गरेको दूतावासले जनाएको छ । नेपाल डिपोर्ट नहुने गरी पत्रकार पाण्डेको सजाय माफी गरिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया