स्थानीय निर्वाचन २०७९ : जो निर्विरोध भए

काठमाडौं । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार काइके गाउँपालिकाका अरु जनप्रतिनिधिम पनि एकीकृत समाजवादीको मात्र मनोनयन दर्ता भएको छ ।

डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाका अनुसार काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा वाङ्जु गुरूङको मात्रै उम्मेदवारी परेको केन्द्रीय सदस्य बुढाले बताए ।

त्यस्तै ताप्लेजुङको फत्तालुङ गाउँपालिका– ६ का सबै पदाधिकारीमा एक–एक जनाको मात्र मनोनयन दर्ता भएको छ । फत्तालुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडासदस्य चयन गरी मनोनयन दर्ता गराएका हुन् । उक्त वडाको वडाध्यक्षमा छेतेन शेर्पा र सदस्यहरुमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहाङ्फेले मनोनयन दर्ता गरेका हुन् ।

फक्तालुङ गाँउपालिकाका निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार, वडा नं ६ का सबै पदमा एकरएक जनाको मात्रै मनोनयन दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, मनोनयन दर्ता गर्न आएकाहरुको साथमा आएका थप दुईजना व्यक्ति सबै पदका मनोनयनकर्ताको प्रस्तावक र समर्थक बनेका थिए । सबै पदमा स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृत दाहालले बताए ।

प्रतिक्रिया