कैलालीमा सत्तारुढ गठबन्धनबीच जुट्यो सहमति

धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागि कैलालीमा सत्तारुढ गठबन्धन दलहरुबीच तालमेलको सहमति भएको छ । लामो समयको प्रयास पछि आइतबार राति गठबन्धनका दलहरु नेपाली कांग्रेस,नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच तालमेलमा सहमति भएको हो ।

कैलालीम रहेका १३ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७ वटा स्थानीय तहको प्रमुख/अध्यक्ष, माओवादी केन्द्रले ४ वटा स्थानीय तहको प्रमुख/अध्यक्ष र नेकपा एकीकृत समाजवादीले २ वटा स्थानीय तहको प्रमुख/अध्यक्ष पाउने सहमति भएको छ । नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका,लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका,वर्दगोरिया गाउँपालिका,जानकी गाउँपालिका र जोशीपुर गाउँपालिको प्रमुख/अध्यक्ष,माओवादी केन्द्रले गौरीगंगा नगरपालिका,भजनी नगरपालिका,कैलारी गाउँपालिका र मोहन्याल गाउँपालिकाको प्रमुख÷अध्यक्ष र एकीकृत समाजवादीले घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकाको प्रमुख/अध्यक्ष पाउने नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट,नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीर्घ सोडारीले हस्ताक्षर गरेको सहमति पत्रमा उल्लेख छ ।

त्यसै गरी नेपाली कांग्रेसले ६,माओवादी केन्द्रले ६ र एकीकृत समाजवादीले एउटा पालिकाको उपप्रमुख/उपाध्यक्ष पाउने भएका छन् । नेपाली कांग्रेसले गौरीगंगा, घोडाघोडी, भजनी नगरपालिका,चुरे, कैलारी, मोहन्याल गाउँपालिकाको उपप्रमुख/उपाध्यक्ष,माओवादी केन्द्रले धनगढी उपमहानगरपालिका, लम्कीचुहा, टीकापुर नगरपालिका,बर्दयोरिया,जानकी र जोशीपुर र एकीकृत समाजवादीले गोदावरी नगरपालिकाको उपउप्रमुख पाउने सहमति पत्रमा उल्लेख छ ।

२०७४ को निर्वाचनमा कांग्रेसले जितेका वडामा कांग्रेसले अध्यक्ष सहितको उम्मेदवारी दिने,माओवादीले जितेका वडामा माओवादीले अध्यक्ष सहितको उम्मेवारी दिने र नेकपा एकीकृत समाजवादीले सनाखत र समर्थन गरेको वडामा उक्त दलको अध्यक्ष सहित उम्मेदवारी दिने भएको छ । एमालेले विजयी गरेका २४ वडाहरुमा तीनवटै दलले ८/८ वटा वडा लिने सहमति भएको छ ।

प्रतिक्रिया