नयाँघरेकोे ‘याकजी’ बजारमा

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रह बजारमा आएको छ । नियात्रा समाज नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्राज्ञ तथा नाटककार अशेष मल्लले उक्त कृतिको विमोचन गरे । मल्लले संग्रहमा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन रहेको बताए । उनले नेपालको हिमाली जिल्लाको प्रकृति, संस्कृति, समाज तथा सामाजिक मनोविज्ञान बुझ्न कृति निकै उपयोगी रहेको विचार व्यक्त गरे । उनले भने, ‘डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्वपूर्ण छ । यो कृति यात्रा मात्रै नभएर सामाजिक रुपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो ।’

समालोचक महेश पौडेलले नयाँघरेको नियात्रा संग्रहमा डोल्पाको सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा त्यहाँको जीवन स्तरलाई कलात्मक रुपमा उधिनिएको बताए । उनले भने, ‘याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको छ । विवरणभन्दा अनुभूतिले भरिभराउ यो कृति यात्रा लेखनको एक मानक ग्रन्थ बन्न पुगेको छ ।’ उनले यस कृतिमा पनि नयाँघरेशैली मज्जाले भेट्न सकिने जिकिर गरे ।

नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले याकजी यात्रा साहित्यको महत्वपूर्ण ग्रन्थको रुपमा आएको बताए । उनले भने, ‘याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रुपमा आएको छ । कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार हामी यहाँ भेट्न सक्छौँ ।’ ढकालले नयाँघरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई यस कृतिमा पनि आत्मसात् गरिएको अनुभव गर्न सकिने धारणा व्यक्त गरे । उनले थपे, ‘कृतिमा डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँघरे सफल छन् ।’

समालोचक तथा प्रा.डा. सिर्जना शर्मा उप्रेतीले नयाँघरेको लेखनबाट आफू प्रभावित भएको र यात्रा साहित्यमार्फत् समाजलाई बुझ्न एवं अनुभव गर्न ठूलो सहयोग पुग्ने धारणा राखिन् । उनले भनिन्, ‘याकजी पढ्नु भनेको हिमाली सभ्यता, संस्कृति र रहनसहन थाहा पाउनु हो । यो कृति आगामी दिनका लागि पनि भौगोलिक, सांस्कृतिक, प्राकृतिक एवं धार्मिक चरित्रहरुको थप बिस्तारपूर्वक अध्ययन गर्नका लागि सघाउने कृति बन्न पुगेको छ ।’

याकजीका लेखक नयाँघरेले कर्णालीको विकट क्षेत्रको यात्रानुभूतिलाई संग्रहमा समेट्ने कोशिस गरेको धारणा व्यक्त गरे । उनले आफ्नो लेखकीय अनुभव सुनाउँदै भने, ‘कर्णालीको विकट क्षेत्रको यात्राबाट मैले जीवनकै गहिरो दर्शन प्राप्त गरेको छु ।’ नयाँघरेले भने, ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरु घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु ।’ उनले देश चिन्नका लागि डोल्पा एक विशेष स्थान भएको बताए । उनले भने, ‘हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नुपर्छ ।’ नियात्राकार नयाँघरेका यो १८औं कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायत उनका आठवटा नियात्राका कृति प्रकाशित छन् । मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवं पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन् ।

प्रतिक्रिया