कैलालीको कमैया बस्तीमा भीषण आगलागी, ७२ घरमा क्षति

धनगढी । कैलालीको कमैया बस्तीमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा भीषण आगलागी भएको हो ।

आइतबार दिउँसो गहुँको नल जलाउन खेतमा लगाएको आगो हावाहुरीले उडाएर बस्तीमा पुर्याएपछि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनका अनुसार पुरै बस्तीमा आगलागी भएको छ । उक्त आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक रूपमा भने ठूलो क्षति भएको जोशीले बताए ।

आगलागी नियन्त्रणका लागि धनगढी उपमहानगरपालिका र गौरीगंगाको दमकल बस्तीमा पुगेका छन् । साथै, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, नेपाल प्रहरी र स्थानीयले पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाको दमकलसमेत मगाइएको छ ।

आगलागीको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत सुरक्षा टोली घटनास्थल तर्फ गइरहेको छ ।– न्युज कारखाना

प्रतिक्रिया