नेपाली परम्परागत थाङ्का कला क्षेत्रमा पाल्साङ्मो लामा परिचित नाम नाम हो । उनको जन्म २०३६ सालमा रामेछापको बेथान–५ (हाल सुनापति गाउँपालिका–४) मा बुद्धकर्मा लामा र कान्छी तामाङका कोखबाट भएको हो । पाल्साङ्मोलाई पेमा दोर्जे लामाका नामबाट पनि चिनिन्छ । उनी १५ महिनाको हुँदा बुबा बिते भने ९ वर्षको हुँदा परिवार छुट्टाभिन्न भयो । आमाले दुःखजिलो गर्दै दिदी र उनलाई हुर्काइन् । आमा, दिदी र पाल्साङ्मो गरी तीन जनाको परिवारमा आर्थिक अभावले निकै संघर्ष गर्नुपरेको थियो । खेतीकिसानी नै मुख्य पेशा रहेको परिवारमा पाल्साङ्मोले भने सानैदेखि कलाप्रति रुचि देखाए । कलाप्रतिको आकर्षणका कारण उनले गाउँमै रहेको टासी दरग्यालिङ गुम्बामा २०४५ सालमा थाङ्का कला सिक्न थाले ।
गाउँमा रहेको गुम्बा, धार्मिक तथा सांस्कृतिक रूपमा बनाइने थाङ्का चित्र सानैदेखि देखेपछि उनमा त्यसको प्रभाव पर्न गयो । त्यस्तै किताबमा बनाइएका दृष्टान्तचित्र कोर्दाकोर्दै उनमा त्यसको पनि प्रभाव पर्न गयो । यसरी सानैमा चित्रप्रतिको रुचि जाग्दै गएपछि उनले कापी, घरका भित्ता, सलक्क परेका ढुंगा आदिमा चित्र कोर्दै आफ्नो रुचिलाई पूरा गर्न लागे ।
० सामाजिक रूपान्तरणका लागि उनी प्रगतिशील आन्दोलनमा नजानिँदो गरी संलग्न हुँदै गए । मोक्तानको संगतपछि पाल्साङ्मो चित्रकर्मका अतिरिक्त नृत्य गर्न पनि थाले
कलाकार पाल्साङ्मोले ९ वर्षको उमेरबाट थाङ्का बनाउन थालेको बताए । यो कर्म उनको पुर्खादेखि गरिँदै आए पनि सिकाउने गुरु भने कमै पाइन्थ्यो । थाङ्कामा निपुण भएका कलाकार धेरैजसो काठमाडौंमै बस्थे । उनले ९ वर्षकै उमेरमा मण्डलाको चित्र बनाएको सुनाए । उनले गाउँमै केही कलाकारले बनाएको मण्डला हेर्दै घरमा आएर त्यसको सिको गर्दै उक्त चित्र बनाएको बताए । गाउँमा रङ र कपडा किन्न सहज थिएन । त्यतिवेला पैसा पनि हुँदैन्थ्यो तैपनि दुःखजिलो गरेर पाल्साङ्मोले आफ्नो कला अभिरुचिलाई मर्न दिएनन् । घर नजिकैको छिमेकी दाइ बाबु तामाङ ‘सुब्बा’ ले उनले बनाएको मण्डल देखेपछि ५० रूपैयाँ हालेर किने । एक रूपैयाँ नहुने उनी त्यो पैसा पाएपछि खुसीले उफ्रिए ।
पाल्साङ्मोले सुब्बा प्रेरणाको स्रोत तथा गुरु बनेर आफूलाई कलाकर्ममा निकै सघाएको सुनाए । सानै उमेरमा थाङ्का बनाएर चर्चा पाएपछि उनलाई २०४५ सालमा मामा खलकका दुई जना छोरा (बुद्ध लामा र लालध्वज लामा) ले सँगै काम गरौं र यतै स्कुल पढौं भनेर काठमाडौंको क्षेत्रपाटीमा बोलाए । केही दिन त्यहाँ बसेपछि उहाँ त्यहाँबाट फेरि पाटन कुम्भेश्वर गए । थाङ्का लेख्ने काम गरे पनि उनले विद्यालयमा गएर पढ्न पाएनन् । त्यहाँ सात–आठ महिना बसेर काम गरे । त्यहाँ बस्दा ३–४ दिन काम गरेपछि २–३ सय आउँथ्यो । त्यो पैसा आएपछि चलचित्र हेर्ने, पौडी खेल्न जान थाले । सङ्गत गतिलो परेन । आठ नौ महिनापछि भक्तपुरको जगातीमा गाउँकै मान्छेकहाँ पढ्ने र काम गर्ने गरी गए । त्यहाँ पनि एक डेढ महिना बसेपछि पढ्न नपाउने देखेर उनी त्यहाँ पनि बसेनन् ।
त्यसपछि उनी सूर्यविनायकमा मामाको छोरा माइला दोङकहाँ गए र केही समय बसे । उनले थाङ्का कलाकार फुर्नाम्गेल मोक्तानसँग थाङ्का सिक्ने र बनाउने काम गरे । भक्तपुर महाँकालमा रहेको प्रभात माविबाट उनले २०५३ सालमा एसएलसी पास गरे । पाल्साङ्मो ११ वर्षको हुँदादेखि नै राजनीतिक विषयमा चासो राख्ने भइसकेका थिए । उनलाई खासगरी कलाकार फुर्नाम्गेलको सङ्गतले समाज, राजनीति र संस्कृतिका बारेमा बुझ्ने अवसर मिल्यो । त्यसवेला मोक्तान युवानेता थिए । उनी पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालको आन्दोलनमा सक्रिय भएर लागेका थिए । उनको प्रभावले पाल्साङ्मोको बालमस्तिष्कमा सानैदेखि राजनीतिक प्रभाव प¥यो । सामाजिक रूपान्तरणका लागि उनी प्रगतिशील आन्दोलनमा नजानिँदो गरी संलग्न हुँदै गए । मोक्तानको सङ्गतपछि पाल्साङ्मो चित्रकर्मका अतिरिक्त नृत्य गर्न पनि थाले । उनी पार्टीले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा नृत्य गर्न पनि थाले । उनले भने, ‘त्यतिवेला अडिसन दिन त्रि–कलेज गएको थिएँ । थाङ्का बनाउने र नृत्य सँगसँगै गर्दै राजनीतिक अभियानमा पनि जोडिए ।’
रमेश गौतम र अजय लामाले थाङ्का मजदुरी पेसा नभएर ललितकलाको अभिन्न अंग हो भन्ने अभियान चलाएका थिए । सो अभियानमा पाल्साङ्मो पनि जोडिए । यसमा अरू कलाकार पनि सहमत हुँदै यसको बृहत् विकासमा लागे । त्यतिवेलासम्म उनले थाङ्काको गहिराइलाई नजिकबाट ननियालेको बताउँदै जब अभियानमा बहस हुन थाल्यो त्यसपछि सचेत ढङ्गले अगाडि बढेको सुनाए । अभियानले उनी लगायतका थुप्रै कलाकारलाई थाङ््का कलाको मर्म, इतिहास, सांस्कृतिक तथा सामाजिक महत्व बुझ्ने अवसर जुरायो ।
त्यस्तै, ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक (बिएफए) अध्ययन गरेका पाल्साङ्मोले जीवनका विविध आरोह अवरोह पार गर्दै थाङ्का कलामा आफ्नो विशिष्ट परिचय बनाउन सफल भएका छन् । उनी परम्परागत थाङ्का कलाको मौलिकता र पहिचानले नेपालकै सांस्कृतिक वैभवतालाई चिनाएकाले यसको विकास, संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा राज्यले विशिष्ट भूमिका खेल्नुपर्छ भन्ने मान्यता राख्छन् । विभिन्न राजनीतिक तथा सांस्कृतिक अभियानमा जोडिएर उनले थाङ्का कलाको विकासमा योगदान दिइरहेका छन् । अहिले उनी अखिल नेपाल ललितकला संघ केन्द्रीय समितिको अध्यक्ष, बुद्धिस्ट परम्परागत थाङ्का कला प्रतिष्ठानको महासचिव, तामाङ म्वाओवो डाजाङ सहसचिव तथा जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय सदस्यका रूपमा रही सांस्कृतिक आन्दोलनमा जोडिएर काम गरिरहेका छन् ।
उनका नेपाल तथा विदेशमा दर्जनौं सामूहिक कला प्रदर्शनी भएका छन् । समाजको प्रगतिशील रूपान्तरणमा कलाले भूमिका खेल्नुपर्छ भन्ने मान्यता राख्ने उनले थाङ्का शैलीमा बनाएका सामाजिक यथार्थमा आधारित कलाले रूपान्तरणको पक्षमा आवाज उठाएको पाइन्छ । कलाकार पाल्साङ्मोले बनाएका थाङ्कामा आलङ्कारिक, रूपभेदिक, वर्णनात्मक तथा प्रतीकात्मक पक्ष सबलताका साथ प्रस्तुत भएको पाइन्छ । उनका कलाकृतिहरूमध्ये प्रतीकात्मक पक्षमा खासगरी बौद्ध तथा हिन्दु धर्मका साङ्केतिक तथा प्रतीकात्मक पक्षलाई चित्रमा उतारिएको छ । बिम्बका रूपमा आउने यस्ता पक्षले धर्मको आदर्शलाई रहस्यात्मक रूपमा प्रस्तुत गरेका हुन्छन् । त्यस्तै चित्रमा जीवन र जगतका विविध पाटालाई सांकेतिक ढङ्गले सुत्रबद्ध समेत गरिएको छ । पाल्साङ्मोले बनाएका चित्रमा प्रतीकात्मक पक्षको पनि प्रचुर मात्रामा प्र्रयोग पाइन्छ ।
उनले राज्यले कला र संस्कृतिको जर्गेना गर्न न्यायोचित हुने गरी संस्कृति नीति ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् । उनी भन्छन्, ‘कला, संस्कृति तथा सभ्यताका आधारलाई बलियो नबनाइकन राज्य समृद्ध र बलियो हुन नसक्ने भन्दै सरकारले कला क्षेत्रको विकास हुने गरी योजना समेत ल्याउनुपर्दछ ।’ नेपालमा कला र संस्कृतिप्रति राज्य सहज नभएको विचार राख्दै उनले समृद्ध नेपाल बनाउनका लागि कला र संस्कृतिको जगलाई प्रगतिशील रूपान्तरणसहित बलियो बनाउनुपर्ने मान्यता राख्छन् ।
उनले शिक्षामा समेत कलाका विविध विषय र पक्षलाई समावेश गर्न राज्य चुकेकाले यो कार्यलाई अविलम्ब कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘परम्परागत कला शिक्षाको व्यवस्था राज्यले गर्नुपर्दछ । नेपालको मौलिक कलालाई बचाउन सबै विश्वविद्यालयले ललितकला विषय पढाउनु पर्दछ । उनले संघीय, प्रादेशिक र स्थानीय सरकारले कला र संस्कृतिको विकास, प्रवद्र्धन, संवद्र्धन तथा संरक्षणका लागि सङ्ग्रहालय स्थापना गर्नुपर्ने, तिनको खोज अनुसन्धानमा ध्यान दिनुपर्ने, प्रदर्शनी कक्षको निर्माण गर्र्दै आवश्यक नीति तथा योजना बनाई काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया