ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सत्ता साझेदार दलहरूले पदीय भागबण्डाको टुंगो लगाएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने सत्तारूढ दलबीचको निर्णयअनुसार यहाँस्थित सत्ता साझेदार दलहरूले विभिन्न चरणमा छलफल गरेर बुधबार भागबन्डाको टुंगो लगाएका हुन् ।
एक नगरपालिकासहित यहाँका नौ स्थानीय तहमध्ये सात स्थानीय तहको नेतृत्व कांग्रेसले लिने र दुई वटामा भने माओवादी केन्द्रले नेतृत्व लिने भएको छ । फुङलिङ नगरपालिकासहित पाथीभरा, याङ्वरक, सिरिजङ्घा, सिदिङ्वा, आठराई त्रिवेणी, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको नेतृत्व कांग्रेसको भागमा परेको छ भने मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रको भागमा परेको छ ।
मेरिङ्देन, मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकाबाहेक सबै ठाउँमा कांग्रेसले नै उपप्रमुखको पद लिने भएको छ । सत्ता साझेदार दल नेकपा एकीकृत (समादवादी)ले भने मेरिङ्देन गाउँपालिकाको उपप्रमुखसहित सात वटा वडाको नेतृत्व पाएको बताइएको छ । यस्तै कांग्रेसले ३९, माओवादी केन्द्रले १५ वटा वडाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ ।
स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गरी भागबन्डाको टुंगो लगाइएको दलहरूले बताएका छन् । भागबन्डा भएसँगै आआफ्ना उम्मेदवारको टुंगो लगाउन दल आन्तरिक कसरतमा जुटेका छन् । यता (नेकपा एमाले)ले समेत पाँच वटा स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाएको छ । फक्ताङलुङ–७ बाहेक सबै वडाका अध्यक्ष पदका उम्मेदवारको समेत टुंगो लागेको उक्त दलले जनाएको छ ।
प्रतिक्रिया