भरतपुरको मेयरमा उम्मेदवारी दिन सांसद सुवेदीले दिए राजीनामा

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधान अनुसार उनले बिहीबार राजीनामा दिएका हुन् ।

नेकपा एमालेबाट महानगरको मेयरको उम्मेदवार बनेका सुवेदीले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् ।

३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ । सोही कारण सुवेदीले आजै हेटौँडा पुगेर राजीनामा दिएका हुन् ।

सुवेदी चितवन क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले चार वर्ष तीन महिना एक दिन बागमती प्रदेशसभा सदस्यको रुपमा काम गरे ।

उनले ४९ दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । सुवेदीलाई नेकपा एमालेले सर्वसम्मत रुपमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गरिसकेको छ । उनी भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया