जनकपुरधाम । मधेस प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव नन्दलाल राय यादव विगत एक महिनादेखि गायब रहेका छन् । चैतको दोस्रो सातादेखि मन्त्रालय छाडेर काठमाडांै हिँडेका सचिव यादव अहिलेसम्म नफर्केपछि मन्त्रालयमा काम गराउने सेवाग्राही मर्कामा पर्दै आएका छन् । मन्त्रालयमा अख्तियारले छानबिनका लागि पत्र पठाएपछि गायब भएका सचिव अहिलेसम्म मन्त्रालय फर्किन मानेका छैनन् । उपसचिवबाट सचिवमा बढोत्तरी भएका यादव सो मन्त्रालयका मन्त्री शत्रुधन महतोको पनि नटेर्ने गरेको स्रोतको दावी छ ।
केही दिन पहिले जनकपुरधाममा मैथिली विकास कोषको आयोजनामा जनकपुरधाम मैथिली साहित्य तथा नाट्य महोत्सवको आयोजना भएको थियो र सोका लागि उद्योग वन पर्यटन मन्त्रालयमा कोषले ४४ लाख रुपैयाँ माग गरेको थियो । प्राप्त जानकारीअनुसार मन्त्री शत्रुधन महतोले अर्थमन्त्रालयसँग समन्वय गरी १८ लाख निकासी पनि गराएको छ । तर, वन मन्त्रालयमा नाट्य महोत्सव लगायतका कार्यक्रम गर्नका लागि कुनै शीर्षक नै नभएपछि सो रकम निकासा गर्नका लागि सचिव यादवले मानेका थिएनन् ।
यता सोही रकमको पावरमा मन्त्री महतोले कार्यक्रमको प्रमुख अतिथि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई बनाउन सफलसमेत भएका थिए । कार्यक्रम सम्पन्न भएपछि रकम निकासा गर्नका लागि सचिव यादवलाई मन्त्री महतोले दबाब दिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवाको चिठी लिएर नै सचिव यादव काठमाडौं निस्केको स्रोतको दावी छ ।
अर्कोतर्फ डिभिजन वन कार्यालय सिरहामा भएको भ्रष्टाचारको छानबिन र मारुती सिमेन्टले कब्जा गरेको जग्गा फिर्तीका लागि चुरे तथा वनजंगल संरक्षण अभियानले केही महिना पहिले अनसन थालेका थिए । तत्कालीन समयमा मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले अभियानीसँग छानवीन गरी प्रतिवेदन सार्वजनिक गर्ने सहमति जनाउँदै अनसन तोडाएका थिए । सोही समय छानबिनका लागि तत्कालीन समयमा उपसचिव रहेका नन्दलाल राय यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।
समिति गठन भएपश्चात एक महिना भित्रमा प्रतिवेदन सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन । समिति गठन भएको नौ महिनापछि मन्त्रालयका वर्तमान मन्त्री शत्रुधन महतोलाई छानबिन प्रतिवेदन सार्वजनिक गर्नका लागिभन्दा प्रतिवेदनमा फोटोबाहेक अझै केही नरहेको र समितिले हाउडे तालमा प्रतिवेदन बनाएको बताउँदै आएका छन् । मन्त्री महतोको अनुसार इमानदारीका साथ छानबिनसमेत नगरी घरमै बसेर प्रतिवेदन बनाएको र यसका लागि सचिव यादवलाई भन्दा जवाफसमेत नदिने र अटेरी गर्दै हिँडने गरेको बताए ।
यता मन्त्री महतोले छानबिनसम्बन्धी चित्त नबुझेको भन्दै पुनः छानबिन समिति गठन गरी पुनः छानबिन गर्ने योजना बनाउँदै गर्दा संघीय सरकारबाट समेत मारुती सिमेन्टको जग्गासम्बन्धी छानबिनका लागि पत्र आएको बताइएको छ । यता संघले समेत छानबिन गर्ने भएपछि आफनो पोल खुल्ने भएर सचिव मन्त्रालय छाडेर काठमाडांै हिँडेको र पटकपटक खबर गर्दा पनि आउन नमानेको मन्त्रालयका एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए ।
अर्कोतर्फ चुरे तथा वनजंगल संरक्षण अभियानले सचिव यादवले बनाएको प्रतिवेदन जेजस्तो भए पनि सार्वजनिक गर्नका लागि दबाब दिएको र मन्त्री महतोले समेत सोही प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता दिएपछि सचिव डराएर भागेको सो कर्मचारीको भनाइ रहेको छ ।
जनकपुर
प्रतिक्रिया