कलाको कुम्भमेला

काठमाडौं । कलाकारको कुम्भमेलाका रुपमा परिचित राष्ट्रिय ललितकला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नयाँ वर्षको छेको पारेर बैशाख २ गतेदेखि सुरु गर्न लागेको उक्त प्रदर्शनीमा ३४१ कलाकारका ३८९ कलाकृति छनोट भएका छन् ।
एक महिनासम्म चल्ने सो कला प्रदर्शनीमा आधुनिक÷परम्परागत चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, वास्तुकला, कार्टुन, फोटोग्राफी, भावभंगीमा कला, प्रतिस्थापन लगायतका विविध विधा कलाको प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा विभिन्न विधाका कलाकारलाई सम्मानित एवं पुरस्कृत गरिँदै आएको छ । जस अनुसार यस वर्षको एक लाख राशीसहितको ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ अग्रज कलाकारद्वय कृष्ण मानन्धर र सूर्यबहादुर चित्रकारलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका कुलपति केके कर्माचार्यले ललितकला लेखन पुरस्कार कलाकार तथा लेखक देवेन्द्र थुम्केली र कला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिने जानकारी दिए ।

सो अवसरमा विभिन्न विधाका २४ जना स्रष्टालाई पुरस्कृत गरिने जनाइएको छ । यस्तै, सात जनालाई प्रादेशिक प्रतिभा पुरस्कारबाट समेत सम्मानित गरिनेछ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजक समितिका संयोजक उपकुलपति गोपाल चित्रकारले जानकारी दिए । कुलपति कर्माचार्यले राष्ट्रिय ललितकला प्रदर्शनीलाई अझ बढी गुणस्तरीय र प्रभावकारी बनाउने प्रयत्न गरेको जनाए । उनले प्रदर्शनीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि विभिन्न समिति तथा उपसमितिको गठन गरिएको बताए । उनका अनुसार राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ मा आधुनिक चित्रकलातर्फ किशोर नकर्मीले राष्ट्रिय ललितकला पुरस्कार पाएका छन् । यस्तै, यस विधाबाट विश्व थापा, प्रनोद कुमार दत्त र शान्त राहादी थापाले विशेष पुरस्कार पाएका छन् ।

परम्परागत चित्रकलामा सुदर्शन सिंख्वालले राष्ट्रिय पुरस्कार पाएका छन् भने शंकर श्रेष्ठ, कलानन्द सत्यम, मिङमा छिरिङले विशेष पुरस्कार पाएका छन् । वास्तुकला तथा अन्य सिर्जनात्मक कलामा सजल शिवाकोटीले राष्ट्रिय ललितकला पुरस्कार पाएका छन् भने राजकी अर्याल, दीपेन्द्र ढुंगाना, केशव राज खनाल, दौलत न्यौपानेले विशेष पुरस्कार पाउन सफल भएका छन् । यस्तै, हस्तकलार/शिल्पकलाको राष्ट्रिय ललितकला पुरस्कार अमिर शाक्य तथा विशेष पुरस्कार सविता चेम्जोङ, संगीता थापाले पाएका छन् ।

लोककलातर्फ रामप्रकाश श्रेष्ठले राष्ट्रिय तथा नेहाकुमारी दास तथा सरितादेवी मण्डलले विशेष पुरस्कार पाएका छन् । परम्परागत मूर्तिकला राष्ट्रिय पुरस्कार विष्णुप्रसाद लिबी तथा विशेष पुरस्कार वीरेन्द्र शाक्य, तथा सुरेश लावट तुलाधरले पाएका छन् । आधुनिक मूर्तिकलातर्फको राष्ट्रिय ललितकला पुरस्कार मानबहादुर बल तथा विशेष पुरस्कारमा मित्थु थारु र माधव पौडेलले पाएका छन् । ललितकला प्रादेशिक पुरस्कारबाट पुरस्कृत कलाकारमा सन्तोष राई प्रदेश १, पुनम झा मधेश प्रदेश, राजन छेताला बागमती प्रदेश, निर्मल थापा मगर गण्डकी, प्रकाश पुन मगर लुम्बिनी, कोन्चोक डुग्याल तामाङ कर्णाली र दीपक आmजी सुदूरपश्चिम प्रदेश रहेका छन् ।

यसैगरी यस वर्ष पनि प्रदर्शनीलाई अनलाइनमार्फत पनि देखाउने व्यवस्था गरेको कुलपति कर्माचार्यले जानकारी दिए । साथै सो प्रदर्शनीको क्युरेटिङ कलाकार मुकेश श्रेष्ठले गरेका छन् । कुलपति कर्माचार्यले राष्ट्रिय ललितकला प्रदर्शनी ललितकला क्षेत्रको एउटा ठूलो पर्व भएको बताउँदै यसलाई सफल बनाउन कलाकार, कलाप्रेमी महानुभाव पत्रकार र सबै नेपालीको सहयोग र सद्भाव आवश्यक पर्ने बताए ।

प्रतिक्रिया