काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको छ । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार, पाँच दलीय गठनबन्धनका बीच स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट गर्दा देहाय बमोजिमको संयन्त्रले देहाय बमोजिमको सिट बाँडफाँट गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तो छ मोडालिटी
१ः महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनेको केन्द्रीय संयन्त्रले गर्ने ।
२ः नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
३ः सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।
४ः प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई पतिनिधि रहने ।
५ः प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।
६ः सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।
गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू
१ः २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने ।
२ः गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मत भार मान्ने
३ः २०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने ।
४ः २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । अन्य दलका उम्मेदवारले पाएको मत भरलाई पनि आधार मान्ने ।
५ः गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्ने, गठबन्धनबाहिर चुनावी तालमेल गर्न नपाइने ।
प्रतिक्रिया