बजेट अभावमा मदन भण्डारी राजमार्ग

काठमाडौं । झण्डै दुई वर्ष अवधि बाँकी हुँदा मदन भण्डारी राजमार्गको एकतिहाइ निर्माण सकिएको छ । बर्सेनि न्यून बजेट विनियोजन भइरहँदा राजमार्ग बनाउने लक्ष्य लिइएको अवधिमा सम्पन्न गर्न चुनौतीपूर्ण देखिएको छ । चालु आवमा सरकारले २ अर्ब ८० करोड विनियोजन गरेको मदन भण्डारी राजमार्ग आयोजनाले जनाएको छ । हालसम्मको भौतिक र वित्तीय प्रगति ३३ प्रतिशत पुगेको छ । यस वर्षको बजेट न्यून छ र आगामी वर्षका लागि पनि त्यही अनुपातमा छुटाउने देखिएको आयोजना प्रमुख अशोक तिवारीले बताए । उनले भने, ‘बर्सेनि चाहिनेभन्दा अति कम मात्रै पैसा छुट्टाएको छ ।’

आयोजना ०८१÷८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसको जम्मा लागत ७५ अर्ब रहेको छ । हालसम्म २४ अर्ब खर्च भएको आयोजनाले जनाएको छ । सरकारले वार्षिक बजेट दुई÷तीन अर्बका दरले छुट्याउँदा सम्पन्न गर्न लामो समय लाग्नसक्ने उनले बताए । आयोजनाले हेर्ने सडकमा ३ सय ६६ किमी सडकको ठेक्का व्यवस्थापन हुन बाँकी छ । चालु आवमा आयोजनाले ९० किमी सडक निर्माणका लागि ठेक्का व्यवस्थापनको सहमति मागेको थियो । तीन÷चार महिना पहिले सहमति मागिएको भए पनि अर्थ मन्त्रालयबाट अहिलेसम्म सहमति नआएको प्रमुख तिवारीले बताए । उनले भने, ‘वार्षिक बजेट कम छुटाउने र थप बजेट माग गर्दा आउन नसक्दा लक्ष्यअनुसार काम गर्न सकिँदैन ।’

आयोजनाले चालु आवमा हालसम्म १ अर्ब ५० करोड भुक्तानी गरिसकेको छ । हालसम्म आयोजनाले ४ अर्ब २० करोड बराबरको काम गराइरहेको छ । चालु आवमा ८४ प्रतिशत प्रगति भइसकेको आयोजनाले जनाएको छ । यस वर्षको बजेटले लक्ष्यअनुसार सडक नै सम्पन्न नहुने तर थप पैसा हुँदा थप काम गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाले लक्ष्यभन्दा दोब्बरभन्दा बढी काम गर्न सक्ने भए पनि पैसा कम भएर गर्न गाह्रो भइरहेको प्रमुख तिवारीले बताए । अझै दुईतिहाइ बजेट खर्च गर्न बाँकी रहेकाले यही अनुपातमा बजेट बिनियोजन गर्दा आयोजना सम्पन्न गर्न २० वर्ष लाग्नसक्ने उनले बताए ।

चालु आवका कुनै पनि सडक कालोपत्र भइसकेका छैनन् । सडकका आधारको काम (बेस) को काम भइरहेको छ । चालु आवमा ४१ किमी सडक कालोपत्रको लक्ष्य रहेको र बजेट व्यवस्थापन हुँदा सकिने उनले बताए । लक्ष्यअनुसार सडक निर्माण गर्न ठेक्का व्यवस्थापनको सहमतिका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गर्नुपर्ने प्रमुख तिवारीले बताए । अर्थमा ६ अर्बको सहमति मागेको र आएको छैन । अहिले ठेक्का लागिसकेकामा नौ अर्ब भुक्तानी गर्न बाँकी छ । उनले भने, ‘काम गरेपछि भुक्तानी दिनुपर्छ ।’ सडकको अधिकार क्षेत्र (राइट अफ वो)मा ठाउँठाउँमा समस्या भए पनि अहिले निर्माणको काम भइरहेको छ । निर्माणाधीन अरू सडकमा जस्तै यसमा बन क्षेत्रको समस्या भए पनि काम रोकिएको छैन । दुई लेन सडक सात मिटर र सल्जर, नालीगरेर सडकको चौडाइ ११ मिटर रहेको छ ।

पहिले राष्ट्रिय राजमार्गका आधारमा यसको चौडाइ ५० मिटर कायम भएको थियो । राजमार्ग ११ लेनमा बनिरहँदा पनि अझैसम्म ५० मिटर चौडाइभित्र पर्नै स्थानीयबासीको घरजग्गा रोक्का भएको थियो । अहिले सडकको क्षेत्र (११ मिटर) मात्रै कायम गर्ने गरी फाइल उठाइएको प्रमुख तिवारीले बताए । उनले भने, ‘११ मिटरभन्दा बाहिरको क्षेत्रमा घरजग्गा रोक्का हुँदैन ।’

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सदस्य गणेशकुमार पहाडीले सडकको ‘राइट अफ वो’को समस्या हट्दै गएको बताए । उनले ऐनका आधारमा ५० मिटर कायम गरिने व्यवस्था भए पनि स्थानीयवासीको मागका आधारमा १५ मिटर कायम गर्न सुझाव दिइएको बताए । पहिले ५० मिटर सडकको अधिकार र ६ मिटर सडकमा नगरपालिकाले छाड्न लगाउँदा ६६ मिटर जग्गा छाड्नुपर्दा नागरिक मर्कामा थिए । उनले भने, ‘मापदण्ड कम गर्ने कुरा कार्यान्वयन हुनुपर्छ ।’

राजमार्गको जम्मा लम्बाई १ हजार ३ सय ९० किमी रहेको छ । त्यसमध्ये आयोजनाले ७ सय ४० किमी सडकमा निर्माणको काम गरिरहेकोे छ । त्यस बाहेकका बाँकी सडक अरू निकायले गरिरहेका छन् । हालसम्म २ सय ४१ किमी सडक सम्पन्न भइसकेको छ भने ७७ पुल सम्पन्न भएको आयोजनाले जनाएको छ । ०७५÷७६ मा शुरु भएकामा यो आयोजना ०८१÷८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । – रासस

प्रतिक्रिया