काठमाडौं । पाँचौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव निफ २०२२ मा चलचित्र ‘महानगर’ उत्कृष्ट बन्न सफल भएको छ । सोमबार राष्ट्रिय सभागृहमा उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गर्दै महोत्सव समापन भएको हो । महोत्सवमा मोहन राईले निर्देशन गरेको चलचित्र ‘महानगर’ उत्कृष्ट बन्दै राष्ट्रिय फिचर फिल्मको अवार्ड पाउन सफल भएको हो । यसैगरी, उत्कृष्ट स्क्रिनप्ले (पटकथा) का लागि यसै चलचित्रबाट मोहन राईले अवार्ड पाएका छन् ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको महोत्सवमा डन किहोटे अवार्ड उत्कृष्ट फिचरका लागि साइलेन्स ट्रीलाई दिइएको छ । यो चलचित्र फैजल सयसलको निर्देशनमा बनेको हो । यस्तै, उत्कृष्ट सिनेमेट्रोग्राफी अवार्ड चलचित्र ‘चिसो एस्ट्रे’ बाट उज्ज्वल बस्ताकोटीले पाएका छन् । उत्कृष्ट पुरुष अभिनेता चिसो एस्ट्रेबाट दिव्य देव, उत्कृष्ट महिला अभिनेत्री महानगरबाट मेनुका प्रधानले पाउन सफल भएका छन् । उत्कृष्ट निर्देशनका लागि महानगरबाट मोहन राईले अवार्ड पाएका छन् । यस्तै, सर्ट फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड बच्चन बेन्जनकार, उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड आइसक्रिमका लागि संगीता श्रेष्ठ, उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मका लागि दिइने बागमती अवार्ड अल सिट्टले प्राप्त गरेका छन् ।
यसैगरी, मन्जुश्री अवार्डअन्तर्गतको उत्कृष्ट एनिमेडेट फिल्म अवार्ड साइमन फिलियोन, उत्कृष्ट डकुमेन्ट्री एके शेर्पा अवार्ड गोर्खा गल्र्सका लागि विशाल रोका मगर र माउन्ट एभरेस्ट अवार्ड आउट अफ थिन एयरले पाउन सफल भएका छन् । यस्तै, उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मका लागि दिइने गौतम बुद्ध अवार्ड महोम्मद राबिमिद्ले निर्देशन गरेको ‘नो ग्राउन्ड बिनिथ द फिट्’ ले हात पारेको छ । महोत्सवमा विभिन्न ३८ देशबाट प्राप्त ८९ चलचित्र भौतिक र भर्चुअल माध्यमबाट प्रदर्शन गरिएको थियो । चैत्र १६ गतेबाट सुरु भएको महोत्सवमा चलचित्र प्रदर्शनसँगै सिनेमा जगतका विविध विषयमाथि बहस गरिएको थियो ।
प्रतिक्रिया