चार स्रष्टा सम्मानित

काठमाडौं । नेपाली साहित्यमा योगदान दिएका चार स्रष्टा सम्मानित एवं पुरस्कृत भएका छन् । वासु शशी स्मृति परिषदले कवि एवं नाटककार वासु शशीको ८६औं जन्मजयन्तीको अवसर पारेर अग्रज साहित्यकार शैलेन्द्र साकारलाई २०७८ सालको ‘वासु शशी सम्मान’ प्रदान गरेको छ ।
यसैगरी कवि राधेश्याम लेकालीलाई २०७७ साल र मोमिला जोशीलाई २०७८ सालको ‘वासु शशी साहित्य पुरस्कार’ प्रदान गरियो । दुवै पुरस्कारमा सम्मानपत्र र नगद २५ हजार रहेको छ । सोही कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीलाई ‘कुमार–सरस्वती साहित्य पुरस्कार’ प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले साहित्यकार साकार, लेकाली, मोमिला र मधिकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरे ।

सो अवसरमा साहित्यिक पत्रिका ‘शारदा’ को ‘वासु शशी स्मृति विशेषांक’ को समेत विमोचन गरियो । कार्यक्रममा प्रमुख अतिथि कुलपति कर्माचार्यले नेपाली साहित्यका क्षेत्रमा सम्मानित एवं पुरस्कृत स्रष्टाले विशिष्ट योगदान दिएको बताए । उनले कला, साहित्य तथा संस्कृतिको विकासले मात्रै देश समृद्ध बन्ने जनाउँदै स्रष्टाको सम्मानले यो क्षेत्रमा ऊर्जा आउने धारणा व्यक्त गरे । परिषद्का अध्यक्ष गणेश रसिकसहित सम्मानित स्रष्टा शैलेन्द्र साकार, पुरस्कृत व्यक्तित्व राधेश्याम लेकाली, मोमिला र ध्रुव मधिकर्मीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा परिषद्का संरक्षक श्रीमती जुलुम वैद्य र कुमार–सरस्वती साहित्य पुरस्कारकी सस्थापक श्रीमती सरस्वती जोशीको पनि उपस्थिति रहेको थियो । सम्मानित व्यक्तित्व साकार विगत पाँच दशकदेखि कविता, कथा तथा सम्पादन लेखनमा सक्रिय छन् । उनका एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् । विगत चार दशक बढी समयदेखि सक्रिय साहित्यकार लेकालीका कविता, मुक्तक र सम्पादनसहित डेढ दर्जनभन्दा बढी साहित्यिक पुस्तक प्रकाशित छन् ।

यस्तै, साढे तीन दशकदेखि नेपाली भाषा तथा साहित्यका क्षेत्रमा क्रियाशील निबन्धकार मोमिलाका कविता, निबन्ध सम्पादनसहित एक दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् । विगत साढे चार दशकदेखि सक्रिय साहित्यकार मधिकर्मीका कथा, लघुकथा, कविता, सम्पादनसहित एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । परिषद्का अध्यक्ष रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ ले कवि एवं नाटककार वासु शशी र प्रा.डा.कुमारबहादुर जोशीको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । प्रतिष्ठानका सचिव प्रद्युम्न जोशीले स्रष्टाले समाजलाई सत्मार्गमा डो¥याउन भूमिका खेल्दै आएको धारणा राखेका थिए ।

प्रतिक्रिया